देशलाई काठ निर्यात गर्ने अवस्थामा पुर्‍याउन वैज्ञानिक वन कार्यविधि खारेज : वनमन्त्री आले

काठमण्डौ । वन तथा वातावरण मन्त्री प्रेमबहादुर आलेले देशलाई काठ निर्यात गर्ने अवस्थामा पुर्‍याउन वैज्ञानिक वन कार्यविधि खारेज गरेको बताएका छन्।

नेपाल फर्निचर तथा फर्निसिङ संघको २१ औं वार्षिक साधारणसभामा बोल्दै आज मन्त्री आलेले वार्षिक १० देखि १२ अर्ब बराबरको काठ आयात गर्नुपर्ने अवस्थाको अन्त्य गरी काठ निर्यात गर्ने अवस्थामा पुग्नका लागि वैज्ञानिक वन कार्यविधि खारेज गरिएको दाबी गरेका हुन्।

देशका २१ हजार ७ सय ५५ वटा सामुदायिक वन र सरकारी वनबाट कसरी काठ निकाल्न सकिन्छ र काठ निर्यात गर्न सकिन्छ भन्ने सम्बन्धमा स्पष्ट नीति निर्माण गर्न लागेको पनि उनले बताए।

विगतमा सामुदायिक वनबाट पाँच हजार क्युफिट काठ निकाल्न पाउने व्यवस्था भएको तर अब बन्ने वन नियमावलीमार्फत ढलेका, सुकेका, हैसियत बिग्रेका, बाढीपहिरोबाट बगाएका काठहरू एउटा सामुदायिक वनबाट वार्षिक ५० हजार क्यूफिट निकाल्न सक्ने व्यवस्था गर्न लागेको आलेले बताए।

यसबाट वार्षिक करिब पाँच करोड क्युफिट काठ निकाल्न सकिने पनि मन्त्री आलेले दाबी गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *