काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली आज चितवन जाने कार्यक्रम रहेको छ। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समूहले चितवनमा आयोजना गरेको जनसभालाई सम्बोधन गर्न नेकपा अध्यक्षसमेत रहेका ओली चितवन जाने भएका हुन्।
चितवन जिल्ला कमिटीको आयोजनामा हुने सभालाई ओलीले सम्बोधन गर्ने कार्यक्रम छ। दिउँसो साढे १२ बजे केन्द्रीय बस टर्मिनल भरतपुरमा आयोजना हुने सभालाई प्रधानमन्त्रीसहित उपप्रधानमन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापालगायतले पनि सम्बोधन गर्ने कार्यक्रम रहेको छ।
सभाममा सहभागी हुन जिल्लाका गाउँगाउँबाट ठूलो संख्यामा कार्यकर्ता उतार्ने तयारी गरिएको छ। उनीहरु र्यालीसहित सभास्थलमा प्रवेश गर्ने नेकपा भरतपुर महानगर कमिटी अध्यक्ष रामप्रसाद न्यौपानेले जानकारी दिए। सभालाई सम्बोधन गर्नुअघि प्रधानमन्त्री ओलीले भरतपुरमा बन्न लागेको पुल्चोक–गोन्द्राङ ६ लेन सडक विस्तारको शुभारम्भ गर्नुका साथै भरतपुरमा निर्माण हुन लागेको सिटी हलको शिलान्यास पनि गर्ने छन्।
