जनताको अभिमतविरुद्ध अदालतले फैसला गर्न सक्दैनः नेता सिटौला

काठमाडौँ । नेपाली कांग्रेसका नेता कृष्ण सिटौलाले जनताको अभिमतविरुद्ध अदालतले फैसला गर्न नसक्ने भन्दै अवसरको सदुपयोग गर्न आग्रह गरेका छन् । संसद विघटनको विरोधमा नेपाली कांग्रेस क्षेत्रीय कार्यसमिति क्षेत्र नम्बर ६ काठमाडौँले शुक्रबार शान्ति बाटिकामा आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दै सिटौलाले अदालतले आम जनताको भरोसा र आशा जुटाउने अवसर पाएको भन्दै अवसरको सदुपयोग गर्नुपर्ने बताएका हुन् ।

उनले अदालतले आफ्नो क्षमता प्रकट गरेर संविधानको रक्षा गर्न सक्छ भनेर जनतालाई सन्देश दिने सुनौलो अवसर पाएको पनि बताए । प्रधानमन्त्रीलाई मन लाग्दैमा संसद भंग गर्न नपाओस् भनेर संविधान निर्माणताका संविधानमा धारा ७६ को व्यवस्था गरिएको उनको भनाइ थियो ।

विरोधसभालाई सम्बोधन गर्दै कांग्रेस नेता गगनकुमार थापाले अदालतमा भएको विषयमा कांग्रेस बोल्दैन भन्ने भ्रम नराख्न चेतावनी दिए । कायरले मात्रै अदालतमा भएको विषयमा बोल्दिन भन्ने भन्दै उनले अदालतमा भएको प्रतिनिधि सभा विघटनको मुद्दालाई कांग्रेसले असंवैधानिक कदम भनिसकेको बताए । थापाले अदालतले दायाँबायाँ फैसला नगर्ने विश्वास व्यक्त गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *