टुर्गानको अध्यक्षमा बद्री नेपाल निर्वाचित

काठमाडौँ । पर्यटक पथप्रदर्शकहरुको संस्था टुरिस्ट गाईड एशोसियशन अफ नेपाल (टुर्गान)को अध्यक्षमा बद्री नेपाल निर्वाचित भएका छन् । काठमाडौँमा सम्पन्न टुर्गानको २७ औँ वार्षिक साधारण सभाबाट नेपाल अध्यक्षमा निर्विरोध निर्वाचित भएका हुन् । उनी यसअघि महासचिव थिए ।

साधारण सभाले कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा थानेश्वर देवकोटा, प्रथम उपाध्यक्षमा प्रभालक्ष्मी प्रधानाङ्ग, द्वितीय उपाध्यक्षमा शुकदेव सिग्देल, महासचिवमा कुमारी पुरी, सचिवमा अजयकुमार दाहाल, र कोषाध्यक्षमा राजेन्द्र मानन्धरलाई चयन गरेको छ । कृष्ण खरेल, दीपक गिरी, माधवराज श्रेष्ठ, नारायण बुढाथोकी, रोहितकुमार फुँयाल र टंकप्रसाद दुवाडी कार्यसमितिको सदस्यमा निर्वाचित भएका छन् ।

नवनिर्वाचित अध्यक्ष नेपालले कोरोना भाइरसको महामारीले थला पारेको नेपालको पर्यटन क्षेत्रलाई पुरानै लयमा फर्काउन नयाँ योजना ल्याउने र सरोकारवालासँग सहकार्य बढाउने बताएका छन् । महामारीका कारण पूर्णरुपमा बेरोजगार रहेका र पलायनका अवस्थामा रहेका गाइडहरुलाई राहत दिनेतर्फ कुनै पनि सरोकारवाला निकायले चासो नदिएको भन्दै उनले आपत्ति जनाए ।

गाइडहरुको राहतको लागि हामीले धेरै ठाउँमा संस्थागतरुपमा माग राख्यौँ, अध्यक्ष नेपालले नेपाल समाजसँग भने, “अबको दुई वर्षसम्म राज्य र सरोकारवालाले सुरक्षा दिन सकेनन् भने गाइडहरु पलायन हुने र त्यसले मुलुकको पर्यटन क्षेत्रमा ठूलो क्षति पुग्ने अवस्था छ ।”

टुर्गानमा हाल १ हजार ५० सदस्य छन् । नेपाल अधिराज्यभर झण्डै ४ हजार ५ सय जनाले पथप्रदर्शकको अनुमतिपत्र लिए पनि करीब २ हजारले व्यवसायिक पथप्रदर्शकको काम गर्दै आइरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *