बुटवल । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मुलुक ताजा जनादेशका लागि अग्रसर भइसकेको बताएका छैनन् । रुपन्देहीको भैरहवामा सोमबार आयोजित पत्रकार सम्मेलनमा अर्थमन्त्री पौडेलले तोकिएको समयमा निर्वाचन सम्पन्न हुने भएकाले अब प्रतिनिधिसभा पुनःस्थापनाका नाममा सडकमा आउन जरुरी नभएको बताए ।
प्रतिनिधिसभा पुनःस्थापनाको कुनै सम्भावना नरहेकाले अब निर्वाचनतर्फ आफ्ना प्रयास केन्द्रित गर्नुपर्ने उनको भनाइ छ । उनले आन्दोलन छोडेर निर्वाचनको तयारीमा लाग्न प्रचण्ड समूहलाई आग्रह गरे ।
सरकार निर्वाचनका लागि स्रोत व्यवस्थापनमा लागेको बताउँदै मन्त्री पौडेलले अन्य दलहरु पनि निर्वाचन केन्द्रित भइसकेको उल्लेख गरे । निर्वाचनसँग सम्बन्धित काम गर्नका लागि अदालतले नरोकेको स्पष्ट पार्दै उनले निर्वाचनको तयारी र अदालतको फैसलालाई तुलना गर्नु नपर्ने बताए ।
प्रतिनिधसभाबाट जनताका अपेक्षा पूरा नहुने भएपछि ताजा जनादेशमा गएको बताउँदै मन्त्री पौडेलले भने, “निर्वाचन लोकतन्त्रको प्राण हो । प्रतिनिधिसभा विघटन गरी निर्वाचनमा जान सक्ने प्रष्ट व्यवस्था संविधानमा छ ।”
अर्थमन्त्री पौडेलले कोरोना सङ्क्रमणका कारण पँुजीगत खर्च सन्तुलनको अवस्थामा रहेको जानकारी गराउँदै उल्लेख्य वृद्धिका लागि काम कारवाही अगाडि बढाएको बताए ।
उनले कोरोना विरुद्धको गुणस्तरीय खोप प्रदान गर्न सरकारले आवश्यक तयारी गरेको उल्लेख गर्दै भोलि माघ १४ गते प्रधानमन्त्री केपी शर्मा ओलीले खोपको शुभारम्भ गर्ने बताए । सरकार आवश्यकताअनुसार सबै नागरिकलाई खोप प्रदान गर्ने तयारीमा लागेको मन्त्री पौडेलको भनाइ छ ।
