नागरिक समाजका अगुवामाथि बल प्रयोग भएकामा प्रचण्ड-नेपाल समूहद्वारा निन्दा

काठमाडौं । शान्तिपूर्णरुपमा प्रदर्शन गरिरहेका नागरिक समाजका अगुवामाथि भएको बल प्रयोगको घटनाप्रति नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहले विरोध गरेको छ ।

प्रतिनिधिसभा विघटनको विरुद्धमा सोमबार नागरिक समाजका अगुवाले प्रधानमन्त्री निवास बालुवाटारमा प्रदर्शन गरेका थिए । निषेधित क्षेत्रमा प्रदर्शन गरेको भन्दै प्रहरीले नागरिक समाजका अगुवामाथि पानीको फोहरा हानेको थियो । पानीको फोहराका कारण प्रदर्शनमा सहभागी भएकाहरुमध्ये केही घाइते भएका थिए ।

प्रदर्शनमा नागरिक समाजका अगुवा कृष्ण पहाडी, खगेन्द्र सङ्ग्रौला, पत्रकार नारायण वाग्ले, लेखक युग पाठक, सञ्जीव उप्रेतीलगायत सहभागी थिए ।

नेकपा प्रचण्ड–नेपाल समूहका प्रवक्ता नारायणकाजी श्रेष्ठले सोमबार साँझ विज्ञप्ति प्रकाशित गरी नागरिक समाजले गरेको शान्तिपूर्ण प्रदर्शनमाथि सरकारका तर्फबाट भएको बल प्रयोगको निन्दा गरेका छन् । उनले लोकतन्त्रको स्थापना र संविधान निर्माणमा नेपाली नागरिक समाजको ऐतिहासिक भूमिका अविस्मरणीय रहेको उल्लेख गर्दै आज भएको बल प्रयोगले सरकारको निरङ्कुश चरित्र उदाङ्गो भएको आरोप लगाए ।

विज्ञप्तिमा भनिएको छ, “संविधान र लोकतन्त्रको रक्षाको निमित्त सङ्घर्षमा उत्रँदा गरिएको घोर दमनबाट सरकारको चरम अलोकतान्त्रिक चरित्र उदाङ्गो भएको छ ।” नागरिक आन्दोलनले सञ्चालन गरेको सङ्घर्षप्रति आफ्नो पार्टीले सम्मान व्यक्त गर्दै घाइते भएकाहरुको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *