काठमाडौँ–तराई द्रुतमार्गमा अप्टिकल फाइबर

काठमाडौँ । काठमाडौँ–तराई द्रुतमार्गमा अप्टिकल फाइबर बिछ्याउन सोको डिजाइन कार्य तथा विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) निर्माण सुरु भएको छ । नेपाल टेलिकम र नेपाली सेनाले संयुक्तरूपमा डिजाइन तथा डीपीआरको काम अगाडि बढाएको नेपाल टेलिकमले जनाएको छ ।

टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले काठमाडौँलाई तराईलगायत अन्तर्राष्ट्रिय सूचना महामार्गसँग जोड्न तथा काठमाडौँको सूचना प्रविधिलाई अहिलेको भन्दा थप सर्वसुलभ बनाउने उद्देश्यसहित काठमाडौँ–तराई÷मधेस द्रुतमार्गमा अप्टिकल फाइबर बिछ्याउन डिजाइन तथा डीपीआरको काम सुरु भएको जानकारी दिए । फाइबर बिछ्याउने क्रममा कति लम्बाइको डक तथा कति फाइबर चाहिन्छ, कति ठाउँमा ‘पिकअप’ र ‘सेलेसिङ’ गर्नुपर्छ, कति लागत पर्न आउँछ लगायतका विषयमा डिजाइन र डीपीआरको काम सुरु गरिएको प्रबन्ध निर्देशक अधिकारीले बताए ।

द्रुतमार्गमा अप्टिकल फाइबर बिछ्याउन नेपाल टेलिकम र नेपाली सेनाबीच भएको समझदारी (एमओयू) अनुसार टेलिकमलाई चाहिने अप्टिकल फाइबरसँग सम्बन्धित आफ्नो ‘एसफिकेसन’ नेपाली सेनाको दु्रतमार्ग आयोजनालाई पठाइसकिएको छ । टेलिकम र नेपाली सेनाबीच पुस १३ गते समझदारी पत्रमा हस्ताक्षर भएको थियो ।

अब नेपाली सेनाले द्रुतमार्ग निर्माणका क्रममा अप्टिकल फाइबरसँग सम्बन्धित टेलिकमको ‘एसफिकेसन’ अनुसारको ‘डक’ र त्यसमा अप्टिकल फाइबर राख्नेछ । काम सम्पन्न भइसकेपछि सेनाले सो फाइबर टेलिकमलाई हस्तान्तरण गर्नेछ । फाइबर बिछ्याउने क्रममा टेलिकम र सेनाको प्राविधिक टोलीले संयुक्त अनुगमन गर्ने छन् । प्रबन्ध निर्देशक अधिकारीले भने, ‘‘फाइबर बिछ्याउन लाग्ने खर्च टेलिकमले नेपाली सेनालाई उपलब्ध गराउने छ । द्रुतमार्गमा फाइबर बिछ्याउन टेलिकमले बोलपत्र आह्वान गर्नुपर्दैन । द्रुतमार्ग निर्माण गर्ने कम्पनीले नै फाइबर बिछ्याउने कामसमेत गर्नेछन् ।’’

द्रुतमार्ग निर्माण र फाइबर बिछ्याउने काम समानान्तर रूपमा अगाडि बढ्ने र एकै साथ सम्पन्न हुने गाेरखापत्रमा समाचार छ  । ‘‘अहिले तराई र पूर्व–पश्चिम राजमार्गलाई काठमाडौँसँग जोड्ने सूचना अप्टिकल फाइबर नेपाल विद्युत् प्राधिकरणको हाइटेन्सन लाइनसँग मात्र आएको छ, जुन महँगो पनि छ र अहिलेको मागलाई पूर्तिसमेत गर्न सकिरहेको छैन’’, उनले थपे, ‘‘सर्वसुलभ र अहिलेभन्दा सस्तो र भरपर्दो सूचना प्रविधिका लागि द्रुतमार्गमा अप्टिकल फाइबर बिछ्याउनु आवश्यक छ ।’’

Leave a Reply

Your email address will not be published. Required fields are marked *