श्रीलङ्काद्वारा पर्यटक तथा अन्तर्राष्ट्रिय आगमनका लागि सम्पूर्ण सीमा खुला

श्रीलङ्काले बिहिवार बिहान सबै देशका पर्यटक र अन्तर्राष्ट्रिय आगमनको लागि आफ्नो सिमानालाई बिहीबारदेखि पूर्णरूपमा खोलेको छ ।

अन्तर्राष्ट्रिय पर्यटक तथा सीमा खुला गर्ने निर्णयसँगै विदेशमा विभिन्न काम तथा रोजगारीका शिलशिलामा गएका ५० नागरिक बिहीबार बिहानै सर्वप्रथम ओमन एअरको उडानमार्फत् बन्दरानाइके अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका थिए ।

सरकारको निर्णयबारे राजधानी कोलम्बोमा बोल्दै पर्यटनमन्त्री प्रसन्न रनतुङ्गेले महामारीबाट प्रभावित अर्थतन्त्रलाई उकास्न पर्यटकीय गतिविधि सञ्चालन तथा वैदेशिक आवागमनलाई खुला गर्ने राष्ट्रपति गोतावाय राजापाक्ष र प्रधानमन्त्री महिन्दा राजापाक्षलाई धन्यवाद ज्ञापन गरे । महामारीका कारण करिब ३० लाख व्यक्तिलाई रोजगारी दिई विदेशी मुद्रासमेत आर्जन गरिरहेको पर्यटन उद्योग धराशायी बनेकोप्रति संवेदनशील बन्दै सरकारले सीमालाई खोल्ने निर्णय गरेको उनले बताए ।

महामारीबाट सुरक्षित रहन सरकारले विभिन्न सुरक्षा मापदण्ड र प्रक्रिया अवलम्बन गर्ने र यसका लागि राष्ट्रपतिको संयोजकत्वमा रहेको कार्यदलसँग परामर्श गर्दै अघि बढ्ने उनले बताए ।

श्रीलङ्काली पर्यटनसम्बन्धी अनलाइन सूचना दिने एक सरकारी वेबसाइटका अनुसार महामारी जारी रहेका समय राज्यले विदेशी पर्यटकको जानकारीका लागि २४ घण्टे सेवा केन्द्र, इमेलमार्फत् सम्पर्कयोग्य बनाएको बताइएको छ । पर्यटकहरूले सूचना तथा सरकारका अपडेटहरूमा पहुँच गर्न सहज बनाइएको पनि उक्त वेबसाइटमा उल्लेख गरिएको छ ।

श्रीलङ्कामा आउने पर्यटकका लागि दैनिक दुई हजार ५०० व्यक्तिको पीसीआर परीक्षण गर्नसक्ने क्षमता रहेको बताइएको छ । पर्यटकहरूले बीमा गर्नुपर्ने र आवगमनपछि आफ्नै खर्चमा पीसीआर परीक्षणको लागि भुक्तान गर्नुपर्नेछ । वर्तमानमा त्यहाँ कुनै क्वारेन्टाइन अवधि वा पर्यटक भ्रमणका लागि न्यूनतम बसाईको व्यवस्था गरिएको छैन ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *