तीन महिनापछि देखा परे चिनियाँ अर्बपति ज्याकमा

चीन सरकारले आफ्नो व्यापारिक साम्राज्यविरुद्ध कारबाही थालेपछि अलिबाबा ग्रुपका संस्थापक तथा अर्बपति व्यापारी ज्याकमा पहिलो पटक सार्वजनिक जीवनमा देखा परेका छन् । केही महिना ओझेलमा परेकाले उनको स्थितिबारे निकै अडकालबाजी भएको थियो।

उनी चीनका सर्वाधिक धनी व्यक्तिमध्ये एक हुन् । एउटा सरकारी सञ्चारमाध्यमका अनुसार उनले बुधवार भिडिओमार्फत् ग्रामीण भेगमा कार्यरत १०० शिक्षकहरू छलफल गरेका थिए । उक्त समाचार प्रकाशित भएपछि हङ्कङ स्टक बजारमा अलिबाबाको शेयर मूल्य पाँच प्रतिशतले बढ्यो ।

प्रान्तीय सरकारबाट सहयोग प्राप्त गरेको स्थानीय तियान्मु न्यूजका अनुसार ज्याक माले आफ्नो परोपकारी संस्थाले अग्रसरता आयोजना गरेको कार्यक्रममा ती शिक्षकहरूलाई सम्बोधन गरेका थिए । प्रायः सान्या नगरमा आयोजना गरिने उक्त वार्षिक कार्यक्रम यसपालि कोभिड १९ नियन्त्रणका लागि लगाइएको नियमका कारण अनलाइन भएको थियो ।

सम्बोधनका क्रममा उनले महामारीका कारण सान्यामा भेट्न नसकेको बताएका थिए । उक्त भिडियोमा उनले नीलो पुलओभर लगाएको देखिन्छ । उनले एउटा कोठाभित्र बसेर सोझै क्यामरामा हेरेर बोलेका थिए । तर उनी कहाँ थिए भन्ने कुरा न त उक्त भिडिओबाट न त तियान्मुको समाचारबाट स्पष्ट हुन्छ ।

गत महिला चीनको केन्द्रीय बैंकले एन्ट ग्रुपका कार्यकारीहरूलाई नियन्त्रणमा लियो र उक्त कम्पनी सञ्चालन गर्न ठूलो परिवर्तन गर्ने आदेश दिएको थियो । ज्याकमा उक्त व्यापारिक समूहका संस्थापक र एक महत्वपूर्ण साझेदार हुन् ।

उक्त कम्पनी चीनको सबैभन्दा ठूलो भुक्तानी प्रदायक हो । कम्पनीमा ठूलो परिवर्तनको आदेश दिनुअघि नै नियामक निकायले एन्ट ग्रुपलाई हङ्कङ र शाङ्घाईको शेयर बजारको सूचीबाट निकालिसकेका थिए । उक्त कम्पनीको शेयर बजारमा झन्डै ३७ अर्ब अमेरिकी डलर मूल्य अनुमान गरिएको थियो जुन गत वर्षको सबैभन्दाको ठूलो हुने अपेक्षा थियो ।

चीन सरकारको बजार नियमन गर्ने निकायले अलिबाबाको गतिविधि एकाधिकारवादी भएको भन्दै छानबिन गर्ने घोषणा गरेको थियो । यही महिनाको आरम्भमा ’अफ्रिकाज बिज्नस हिरोज’ नामक टेलिभिजन कार्यक्रममा अनुपस्थित भएपछि उनको अवस्थाबारे शङ्का उत्पन्न भएको थियो । उनी कार्यक्रममा एक निर्णायक थिए ।

अलिबाबाले समय जुधेकाले ज्याक मा त्यसमा सहभागी हुन नसकेको बताए पनि केही सञ्चारमाध्यमका विवरणअनुसार गत अक्टोबर महिना शाङ्घाईमा आयोजित एउटा कार्यक्रमपछि उनी सार्वजनिक रूपमा देखिएका थिएनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *