ललितपुर फुटबल सङ्घका अध्यक्षको निलम्बन फुकुवा

काठमाडौं । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले ललितपुर जिल्ला फुटबल सङ्घका अध्यक्ष पुरुषोत्तम थापाको निलम्बन फुकुवा गरेको छ । आफ्नो १९औँ साधारणसभाको पूर्वसन्ध्यामा एन्फाले १० महिनापछि अध्यक्ष थापालाई कारवाहीबाट मुक्त गरेको हो ।

अनुशासनको कारण देखाउँदै थापालाई एन्फाले गत जेठ ५ गते निलम्बन गरेको थियो । थापाले बुझाएको स्पष्टीकरण चित्तबुझ्दो नभएको भन्दै एन्फाले उनलाई कारवाही गरेको थियो । एन्फा पदाधिकारीलाई सामाजिक सञ्जालमा अपशब्द प्रयोग गरेको भन्दै अध्यक्ष थापालाई कारवाही गर्ने निर्णय गरेको थियो ।

आफूमाथि गरिएको कारवाहीका विरुद्ध थापाले राष्ट्रिय खेलकूद परिषद् (राखेप), विश्व फुटबल महासङ्घ (फिफा) र एशियाली फुटबल महासङ्घ (एएफसी) मा समेत उजुरी दिनुभएको थियो । एन्फाका महासचिव इन्द्रमान तुलाधरले साधारणसभासम्मका लागि मात्र थापालाई निलम्बन गरिएको जानकारी दिए ।

एन्फाको साधारणसभा आजदेखि शुरु भएको छ । एन्फाले मनाङ, खोटाङ र नवलपरासी पूर्वलाई आफ्नो सदस्यता प्रदान गर्नका लागि साधारणसभामा प्रस्ताव प्रस्तुत गरेको छ । साधारणसभाले सो प्रस्ताव पारित गरेमा एन्फाको सदस्य प्राप्त गर्ने जिल्लाको सङ्ख्या ४८ पुग्नेछ । यस्तै कर्णाली प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा गठन गरिएको तदर्थ समितिलाई समेत एन्फाले मान्यता दिने निर्णय गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *