ब्रजिलमा गरिएको परीक्षणमा सिनोभ्याकको कोभिड खोप ५० प्रतिशत मात्रै प्रभावकारी

चीनको सिनोभ्याकले उत्पादन गरेको कोभिड १९ विरुद्धको खोप ब्रजिलमा गरिएको परीक्षणमा ५०.४ प्रतिशत मात्रै प्रभावकारी देखिएको अध्ययनकर्ताहरूले बताएका छन् । नयाँ तथ्याङ्कले यसअघिको तथ्याङ्कभन्दा यो खोप एकदमै कम प्रभावकारी रहेको देखाएको छ। खोप स्वीकृत हुनका लागि कम्तीमा ५० प्रतिशत प्रभावकारी हुनुपर्ने प्रावधान छ ।

ब्रजिलको सरकारले कोभिडविरुद्ध देशभर लगाउन तयार राखेको दुई खोपमध्ये सिनोभ्याक एक हो । बेइजिङको सिनोभ्याकले कोरोनाभ्याक नामक खोप बनाएको हो। यसले मृतप्रायः कोरोनाभाइरसलाई शरीरमा प्रवेश गराएर मानिसमा रोगप्रतिरोधी क्षमतालाई लड्न सिकाउँछ । यो खोप किन्न इन्डोनेसिया, टर्की र सिङ्गापुर तयार रहेका छन् ।

गत साता ब्रजिलमा परीक्षण गरिरहेको बुटानटान इन्स्टिच्युटका अध्ययनकर्ताहरूले खोप कोभिड १९ का मध्यमदेखि गम्भीर खालका अवस्थामा ७८ प्रतिशत प्रभावकारी रहेको बताएका थिए । तर मङ्गलवार उनीहरूले सो तथ्याङ्कमा उपचार आवश्यक नपर्ने सामान्य मध्यम खालका सङ्क्रमण भएका व्यक्तिहरूको तथ्याङ्क समावेश नगरिएको बताएका छन् ।

त्यो तथ्याङ्क पनि राख्दा यसको प्रभावकारिता ५०.४ प्रतिशतमा झरेको थियो । बुटानटान इन्स्टिच्युटले भने सो खोप उपचार आवश्यक पर्ने मध्यम सङ्क्रमणमा ७८ प्रतिशत र गम्भीर सङ्क्रमणमा शतप्रतिशत प्रभावकारी भएको दाबी गरेको छ ।

सिनोभ्याकको परीक्षणमा फरक देशमा फरक नतिजा देखिएको छ । गत महिना टर्कीका अध्ययनकर्ताहरूले यो ९१.२५ प्रतिशत प्रभावकारी रहेको बताएका थिए भने इन्डोनेसियामा यो ६५.३ प्रतिशत प्रभावकारी पाइएको बताइएको थियो । यी दुवै अन्तिम अवस्थाका परीक्षणका अन्तरिम नतिजा हुन्।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *