अमेरिकी संसद्मा जो बाइडनको जित प्रमाणित

अमेरिकी संसद्को संयुक्त बैठकले जो बाइडन र कमला ह्यारिसको गत वर्ष नोभेम्बरमा भएको जितलाई प्रमाणित गरेको छ । संसद्ले प्रमाणित गरेपछि अब बाइडनलाई जनवरी २० मा हुने शपथग्रहण गर्ने बाटो खुलेको छ । संसद्मा एरिजोना र पेन्सिल्भेनियाको इलेक्टोरल मतका बारेमा रिपब्लिकनले चुनौती दिएको भए पनि ती दुईतिहाइले पारित भएनन् ।

संसद्को संयुक्त बैठक राष्ट्रपति डोनल्ड ट्रम्पका समर्थकहरूले बलपूर्वक संसद् भवनमा प्रवेश गरेका कारण केही बेर अवरुद्ध भएको थियो । इलेक्टोलर मतगणनापछि उपराष्ट्रपति माइक पेन्सले बाइडनले ३०६ र ट्रम्पले २३२ इलेक्टोरल मत प्राप्त गरेको घोषणा गरेका थिए । अमेरिकी राष्ट्रपतिमा निर्वाचित हुन २७० इलेक्टोरल मत आवश्यक हुन्छ ।

इलेक्टोरल मतबारे नेभाडा, मिशिगन, विस्कन्सिन र जोर्जियाका सांसद्हरूको चुनौती भने सिनेट सदस्यको हस्ताक्षरको अभावमा तुहिएको थियो । यसअघि जोर्जियाका दुवै सिनेट सिटमा रिपब्लिकनलाई हराउँदै बाइडनको डेमोक्रेटिक दलमा उम्मेदवार विजयी भएका छन्।

यो विजयसँगै डेमोक्र्याटिक दलको माथिल्लो सदन सिनेटमा पनि बहुमत हुने भएको छ । राफेल वारनक र जोन ओस्अफले सिनेटर रहेका केली लोफलर र डेभिड पर्डुलाई हराएका हुन् । सन् २००९ यता पहिलो पटक डेमोक्रेटिक दलको नियन्त्रणमा संसद्को माथिल्लो सदन, तल्लो सदन र ह्वाइट हाउस हुने भएको छ ।

जोर्जियाको निर्वाचनमा ४० लाखले मतदान गरेको बताइएको छ । दुवै विजयमा मतान्तर झीनो भए पनि रिपब्लिकनहरूको नियन्त्रणमा रहेको जोर्जियामा डेमोक्रेटिक दलको जित ट्रम्पको लागि नराम्रो झट्का हो । वारनक जोर्जियाबाट निर्वाचित हुने पहिलो अश्वेत र अमेरिकी सिनेटमा हालसम्मकै एघारौँ अश्वेत सदस्य हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *