प्रवासी नेपालीबाट पत्रकार महासङ्घलाई प्रोजेक्टर र आर्थिक सहयोग

बागलुङ । पत्रकार महासङ्घ बागलुङ शाखालाई दुई प्रवासी नेपालीबाट प्रोजेक्टर र नगद सहयोग प्राप्त भएको छ । अन्तर्राष्ट्रिय बागलुङ समाजका महासचिव देव पौडेलले प्रोजेक्टर र बागलुङ समाज बेल्जियमका अध्यक्ष राजु थापाले नगद रु २० हजार मङ्गलबार शाखा अध्यक्ष दिल शिरीषलाई हस्तान्तरण गरेका हुन् ।

शाखाको नवनिर्मित भवनमा बनिरहेको तालिमकक्षका लागि पौडेलले प्राजेक्टर र फर्निचर व्यवस्थापनका लागि थापाले नगद सहयोग गर्नुभएको अध्यक्ष शिरीषले बताए । महासङ्घको संस्थागत क्षमता विकासलगायतमा समाजमार्फत आगामी दिनमा पनि सहयोग र सहकार्यलाई अघि बढाइने महासचिव पौडेलले बताए ।

बागलुङ समाज बेल्जियमका अध्यक्ष थापाले समाजको नीतिअनुसार महासङ्घलाई आर्थिक सहायता दिन नमिल्ने भएकाले आफूले व्यक्तिगतरूपमा सहयोग गरेको उल्लेख गरे । समाजले शिक्षा र स्वास्थ्यका क्षेत्रमा सहयोग गर्दै आएको छ । शाखा अध्यक्ष शिरीषले स्वतःस्फूर्त प्राप्त भएको सहयोगले महासङ्घप्रतिको सबै अपनत्व र सद्भावलाई झल्काएको बताए ।

भवन निर्माणदेखि महासङ्घका हरेक क्रियाकलापमा समुदायबाट सहयोग र समर्थन जुटेको उनको भनाइ छ । हालै निर्माण सम्पन्न भई उद्घाटन गरिएको महासङ्घको तीनतले सुविधासम्पन्न भवन पनि बृहत् सहयोग अभियानबाट सङ्कलित बजेटबाट बनेको हो । रु एक करोडभन्दा बढीको लागतमा बनेको भवनका लागि जनसाधारणदेखि राज्यका निकायको आर्थिक सहयोग छ । आइतबार मात्रै प्रभु बैङ्कसँगको सहकार्यमा महासङ्घले आधुनिक सूचना केन्द्र सञ्चालनमा ल्याएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *