USAID

इरानद्वारा युरेनियम प्रशोधनको काम पुनः सुरु

  • 2
    Shares

इरानले २० प्रतिशत युरेनियमको शुद्धिकरणसहित आफ्नो युरेनियम प्रशोधन कार्य पुनः सुरु गरेको छ । यो सन् २०१५ मा विश्वशक्ति राष्ट्रसँग भएको परमाणु सम्झौताको सबैभन्दा ठूलो उल्लङ्घन हो । प्रशोधित युरेनियम रियक्टर इन्धनका रूपमा प्रयोग गर्न सकिन्छ तर त्यो परमाणु बम बनाउन पनि प्रयोग हुनसक्छ । हतियार बनाउन प्रयोग हुने युरेनियम ९० प्रतिशत शुद्ध हुनुपर्छ ।

अमेरिकी विदेश मन्त्रालयका प्रवक्ताले इरानलाई धम्कीपूर्ण परमाणु अभियान चलाएको आरोप लगाएका छन् । इरानले आफ्नो परमाणु कार्यक्रम शान्तिपूर्ण भएकोमा जोड दिने गर्छ । सन् २०१५ को उक्त सम्झौता अनुसार उसले परमाणुसम्बन्धी धेरै कार्यक्रमबाट पछि हटेको थियो । सन् २०१८ मा अमेरिकालाई उक्त सम्झौताबाट बाहिर राख्दै राष्ट्रपति डोनल्ड ट्रम्पले आर्थिक प्रतिबन्धहरू लगाएपछि इरानले त्यसको प्रतिउत्तर दिने बताएको थियो ।

उक्त सम्झौतालाई ज्वाइन्ट कम्प्रिहेन्सिभ प्लान अफ एक्सन (जेसीपीओए) पनि भनिन्छ । एउटा छुट्टै घटनामा इरानको रिभोलुसनरी गार्डस्ले एउटा दक्षिण कोरियाली ध्वजायुक्त रसायन बोकेको ट्याङ्करलाई नियन्त्रणमा लिएको छ । उसले बारम्बार समुद्री पर्यावरण कानुन उल्लङ्घन गरेकाले नियन्त्रणमा लिएको जनाएको छ । दक्षिण कोरियाको विदेश मन्त्रालयले उक्त ट्याङ्कलाई तत्कालै छाड्न माग गरेको छ ।

इरानी सरकारका प्रवक्ता अलि राबेईले सञ्चारमाध्यमहरूलाई युरेनियमलाई २० प्रतिशत शुद्ध पार्ने काम फोर्दो केन्द्रमा सुरु भएको बताए । राष्ट्रपति हसन रुहानीले उक्त आदेश दिएको उनले बताए ।

उनका अनुसार रुहानी नयाँ कानुन अनुसार त्यसो गर्न बाध्य छन् किनकि नयाँ कानुन अनुसार शान्तिपूर्ण उद्देश्यका लागि २० प्रतिशत शुद्ध गरिएको युरेनियम हरेक वर्ष १२० किलो भण्डारण गर्नुपर्नेछ । गत नोभेम्बर अन्त्यमा इरानका वरिष्ठ परमाणु वैज्ञानिक मोहसिन फख्रिजादेहको रहस्यमय तरिकाले हत्या भएपछि इरानको संसद्ले नयाँ कानुन पारित गरेको थियो। उक्त हत्याका लागि इरानी नेताहरूले इजरेललाई आरोपित गर्ने गरेका छन् ।


  • 2
    Shares
CivActsAd

Leave a Reply

Your email address will not be published. Required fields are marked *