USAID

पाँच महिनादेखि प्रशासनिक सेवा बन्द


बैतडी । गएको पाँच महिनायता पुर्चौंडी नगरपालिका हाटस्थित इलाका प्रशासन कार्यालयका सेवाहरु बन्द भएका छन् । इलाका प्रशासन कार्यालयमा कमचारी नहुँदा सेवाहरु बन्द भएका हुन् ।

गत भदौ महिनादेखि कर्मचारीको अभावमा सेवा प्रवाहमा समस्या भएको बैतडीका सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्रसिंह नेगीले बताए । इलाका प्रशासन कार्यालयमा गएको पाँच महिनायता शाखा अधिकृत नहुँदा नेपाली नागरिकताको प्रमाणपत्र, सिफारिसलगायतका सबै काम रोकिएको उनको भनाइ छ ।

एक जना शाखा अधिकृत, दुई जना नायव सुब्बा, एक जना सहलेखापाल, एक जना सहायक कम्प्युटर अपरेटर र दुई जना कार्यालय सहयोगीको दरबन्दी रहेको इलाका प्रशासन कार्यालयमा अहिले एक जना नायब सुब्बा र एक जना कार्यालय सहयोगी मात्रै रहेका छन् ।

दुर्गम क्षेत्रका नागरिकलाई गाउँ–घरमै सेवा दिने उद्देश्यले स्थापना गरिएको इलाका प्रशासन कार्यालयमा कर्मचारीको अभाव हुँदा पुर्चौंडीका नागरिकले पनि नेपाली नागरिकताको प्रमाणपत्र, सिफारिसलगायतका कामका लागि सदरमुकाम नै पुग्नुपर्ने भएको छ ।

कर्मचारी नहुँदा इलाका प्रशासनमा उपलब्ध हुने सेवा लिनकै लागि सदरमुकाम पुग्नुपर्दा सेवाग्राहीलाई समस्या भएको अनिरुद्र जोशीले जानकारी दिए । नगरपालिकाभित्रैको कार्यालयमा कर्मचारीको अभाव हुँदा पुर्चौंडीबासी सदरमुकाम धाउनुपरेको उनको भनाइ छ ।

इलाका प्रशासन कार्यालयमा कर्मचारीको पदपूर्तिका लागि गृह मन्त्रालयलाई पत्राचार गरेको भए पनि अहिलेसम्म कर्मचारी नआएका सहायक प्रमुख जिल्ला अधिकारी नेगीले बताए । उनले भने, ‘जिल्ला प्रशासनमै कर्मचारी अभाव छ, जिल्लाबाट पनि पठाउन सकिएको छैन ।’ विसं २०७३ सालमा स्थापना भएको इलाका प्रशासन कार्यालयमा पटक–पटक कर्मचारीकै अभावमा सेवा प्रभावित हुँदै आएको छ ।


CivActsAd

Leave a Reply

Your email address will not be published. Required fields are marked *