अस्पतालमै बीस रुपियाँमा पेटभरि खाना

बाँके । अनेक प्रकारले पून्य कमाउन सकिन्छ । राम्रो मनले फाइदा नसोचेर जनहितमा गर्ने कामलाई पून्य भनिन्छ सायद । भेरी अस्पताल, नेपालगञ्जमा यतिबेला सुन्दरकाण्ड मित्र मण्डलले त्यही पून्यको काम गरिरहेको छ । मण्डलले अस्पतालमा आउनेलाई २० रुपियाँमा पेटभरि खाना खुवाएको छ ।

टाढा–टाढाबाट आएका बिरामी तथा उनका कुरुवालाई २० रुपियाँमा खाना खुवाउन अस्पताल परिसरमै मेस सञ्चालन गरिएको छ । अस्पताल, जहाँ जहिले पनि पैसाको अभाव जस्तै हुन्छ । अड्कलेर ल्याएको पैसा अपुग नै हुन्छ । अनि बिरामीलाई छोडेर बाहिरीतिर खाना खोज्दै हिँड्नु अझ झन्झट र समस्या हुन्थ्यो । सुन्दरकाण्ड मित्र मण्डलले अस्पताल परिसरमै सस्तोमा मिठो खाना खुवाइदिएपछि अस्पतालमा आउनेहरु खशी भएका छन् ।

सुन्दरकाण्ड मित्र मण्डलका सञ्चालक विजय गुप्ताले दैनिक दुई सय बढीले खाना खाइरहेको जानकारी दिए । “दैनिक चार सय बढीलाई खाना खुवाउने लक्ष्य हो । अहिले दुई सय बढीले खाना खाइरहनु भएको छ,” मधेसी आयोगका सदस्यसमेत चयन भएका गुप्ताले भने, “सरसहयोग जुटाएर सेवा गरेका छौं ।”

भेरी अस्पतालमा यस क्षेत्रकै बिरामीलाई उपचार गर्न ल्याइन्छ । यो अस्पताल रिफरल सेन्टरको रुपमा विकास भएको छ । अन्यत्र क्षेत्रीय अस्पताल हुँदा पनि यो अञ्चल अस्पतालमा बिरामी ल्याउने गरिन्थ्यो । अहिले अञ्चल शब्द हटेको छ । छिमेकी जिल्लाहरु बर्दिया, कैलाली, कञ्चनपुर, सुर्खेत, दैलेख, जाजरकोट, दाङ, सल्यान, रोल्पा, रुकुमका बिरामी भेरीमै आइपुग्छन् ।

सुन्दरकाण्ड मित्र मण्डललाई नेपालगञ्ज उपमहानगरपालिकाले केही सहयोग गरेको छ । त्यो अपुग छ । सञ्चालक गुप्ताले मासिक तीन लाख जति खर्च व्यहोरेर पून्यको काम गरिरहेको बताए । ‘हामीले पनि सहयोगदाता खोज्ने गर्छौ । दुई÷चार हजार, दुई÷चार हजार जुटाएर खाना खुवाइरहेका छौं, गुप्ताले भने– ‘हामीले आफै तयार गर्दा ५० रुपियाँमा खाना तयार हुन्छ । हामीले २० रुपैयामा खुवाइरहेका छौं ।’

खानाको लागि त्यही कुपनको व्यवस्था गरिएको छ । कुपन लिएर खाना लिने र त्यही राखिएको कुर्सी टेबलमा बसेर खाने सुविधा रहेको छ । बर्दियाबाट आमालाई उपचार गराउन आएकी लक्ष्मी विकले अस्पताल परिसरमै २० रुपियाँमा मिठो खाना पाउँदा खुसी लागेको बताईन । सुन्दरकाण्ड मित्र मण्डलले त्यही खाना पकाउदै खुवाउँदै गरेको छ । ताजा अनि तातो खाना सस्तोमा खान पाएपछि बिरामी वा बिरामीका कुरुवा गदगद नै छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *