भारतमा देशभरि कोरोना खोप प्रयोगको ‘रिहर्सल’

  • 3
    Shares

भारतले कोभिड १९ विरुद्ध आम खोप अभियान चलाउन तयारीको परीक्षणका निम्ति शनिवार देशभरि रिहर्सल गर्दैछ । दशौँ हजार स्वास्थ्य कार्यकर्ता तथा स्वयंसेवकहरू परिचालन गरेर बन्दोबस्तीमा आइपर्नसक्ने कमजोरी पत्ता लगाउने, सुविधाको तयारी अवस्था जाँच्ने र करोडौँ मानिसहरूलाई खोप दिनका निम्ति आवश्यक प्रशिक्षणको जाँच उक्त अभ्यासमा गरिने बताइएको छ ।

औषधि विज्ञहरूको समूहले भारतमा अक्सफोर्ड विश्वविद्यालय तथा एस्ट्राजेनेका कम्पनीले विकास गरेको खोप प्रयोग सिफारिस गरेको भोलिपल्ट देशभरि तयारी जाँच्न खोप लगाउने अभ्यास गरिँदै छ ।

भारतमा आउने साताहरूमा कोरोनाविरुद्ध खोप अभियान थालिने बताइएको छ । एक अर्बभन्दा धेरै जनसङ्ख्या भएको भारतमा आम खोप अभियान निकै जटिल र चुनौतीपूर्ण हुने ठानिन्छ । त्यसमा खटनपटनदेखि लिएर प्रशासनिक जटिलतापनि हुनसक्छन् । खोपको वितरणमा त्यस्ता जटिलता र ढिलासुस्ती नहोस् भनेर देशव्यापी अभ्यास गरिएको भारतीय अधिकारीहरूले बताएका छन् ।

त्यस्तो अभ्यास भारतका एक सय जिल्लाहरूमा गरिँदै छन् । अभ्यासको क्रममा स्वयंसेवकहरू सामान्य खोप अभियानमा जस्तै गरि तोकिएका केन्द्रहरूमा जानेछन् । अधिकारीहरूले खोप वितरणमा आवश्यक चिसो भण्डारण प्रणाली तथा वितरण केन्द्रहरूको जाँच गर्नेछन् । पहिलो चरणमा भारतमा ३० करोड मानिसलाई खोप लगाउने योजना रहेको छ ।

शुक्रवार भारतमा विज्ञहरूको समितिले अक्सफोर्ड विश्वविद्यालय तथा एस्ट्राजेनेकाले विकास गरेको खोपलाई सिफारिस गरेको थियो । उक्त खोप भारतको पुनेस्थित सेरम इन्स्टिच्युट अफ इण्डियाले उत्पादन गरिरहेको छ ।

त्यहाँ खोपको अन्तिम स्वीकृति सरकारको औषधि नियामक निकायले केही दिनमा दिने बताइएको छ । भारतमा एक करोडभन्दा धेरै मानिसहरूलाई कोरोनाभाइरसको सङ्क्रमण भएको छ भने डेढ लाख जनाको ज्यान गइसकेको छ।


  • 3
    Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *