हराएका २२ मोटरसाइकल सम्बन्धित धनीलाई जिम्मा

काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले हराएका २२ वटा मोटरसाइकल फेला पारी सम्बन्धित धनीलाई जिम्मा लगाएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखामा शुक्रबार एक कार्यक्रमको आयोजना गरी महाशाखा प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) जनक भट्टराईले ती मोटरसाइकल सम्बन्धित धनिलाई जिम्मा लगाएका हुन् ।

मोटरसाइकल हराएको उजुरीका आधारमा महाशाखाको पीडित सहायता ईकाइबाट सादा पोसाकमा खटिएको प्रहरी टोलीले उपत्यकाका विभिन्न स्थानबाट मोटरसाइकल फेला पारी सम्बन्धित धनीलाई फिर्ता गरेको हो ।

जथाभावी मोटरसाइकल पार्किङका कारण चोरी बढेको भन्दै सवारीसाधनमा अतिरिक्त लक प्रयोग गर्न, अलार्म लगायतका उपकरण जडान गर्न, घर कम्पाउण्डमा पाकिङ गर्दा सचेतता अपनाउन एसएसपी भट्टराईले आग्रह गरे ।

उनले चोरी भएका मोटरसाइकलहरु काठमाडौ उपत्यकाबाहिर लैजाने गरेकाले काठमाडौ बाहिर पनि ट्राफिक प्रहरी परिचालन गर्ने तयारी गरिरहेको जानकारी दिए ।

महाशाखाको टोलीले बनेपा, कपन, धुम्वाराही, कलंकी, बनस्थली, गंगबु, बौद्ध, थापाथली, ट्रमा सेन्टर, सिनामंगल, जोरपाटी, ठमेल, मुलपानी, कलंकी, ट्याङ्लाफाट, कालोपुल, कमलविनायक, घट्टेकुलो, चावहिल, पुरानोबानेश्वर र बबरमहल लगायतका स्थानबाट मोटरसाइकल फेला पारिएको जनाएको छ। महाशाखाका अनुसार पुस महिनाभित्र मात्रै ३९ वटा मोटरसाइकल अनुसन्धानको लागि ल्याइएको छ भने चोरीमा संलग्न ९ जनालाई पक्राउ गरी मुद्दा चलाईसकिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *