इयू र बेलायतबीच ४७ वर्षको सम्बन्ध औपचारिकरुपमा विच्छेद

युरोपेली सङ्घबाट औपचारिक रूपमा बाहिरिने प्रक्रिया सम्पन्न भएसँगै बेलायतका लागि नयाँ युग सुरु भएको छ । जीएमटी समयअनुसार राति ११ बजेदेखि बेलायतले सङ्घ अन्तर्गतका नियमहरूको पालना गर्न छोडेको छ ।

यात्रा, व्यापार, अध्यागमन र सुरक्षा सहकार्यका लागि नयाँ व्यवस्थाहरू लागु गरिएको छ । लामो समय लगाएर सम्पन्न भएको भए पनि ब्रेक्जिटसँगै अब बेलायतको स्वतन्त्रता उसकै हातमा रहेको र ऊसँग फरक र राम्रो ढङ्गले काम गर्ने क्षमता रहेको ब्रिटेनका प्रधानमन्त्री बोरिस जोनसनले बताएका छन् ।

फ्रान्सका राष्ट्रपति एमानुएल माक्रोँले बेलायत आफूहरूको मित्र र सहयोगी रहने बताएका छन् । नयाँ प्रावधानहरू लागु हुन लागेको अवस्थामा केही अवरोधहरू देखिन सक्ने बेलायतका मन्त्रीहरूले चेतावनी दिएका छन् । बन्दरगाहहरूमा मालसामान अड्किन सक्ने डरकाबीच अधिकारीहरूले सीमा सम्बन्धी नयाँ प्रणाली कार्यान्वयन गर्न आफूहरू तयार रहेको बताएका छन् ।

२७ सदस्य राष्ट्र रहेको युरोपेली सङ्घबाट बेलायत गतवर्ष जनवरी ३१ तारिखमा बाहिरिएको थियो । सन् २०१६ मा गरिएको ब्रेक्जिट जनमत सङ्ग्रहको करिब साढे तीन वर्ष पछि बेलायतले यसतर्फ अन्तिम कदम चालेको हो।

भविष्यमा आवश्यक पर्ने आर्थिक सहकार्यको खाका कोर्नका लागि उसले ११ महिनासम्म सङ्घको व्यापार सम्बन्धी नियमहरू पालना गर्दै छलफल अघि बढाएको थियो ।

माछा मार्ने अधिकार तथा भावी व्यापार नीतिलाई लिएर महिनौँयता जारी मतभेद अन्त्य गर्दै युरोपेली सङ्घ र यूकेले क्रिसमसको अघिल्लो दिन ब्रेक्जिट पछिको व्यापार सम्झौतामा हस्ताक्षर गरेका थिए । कोरोनाभाइरस महामारीको असर, सीमामा अवरोध तथा आयातमा कर लगायतका समस्या झेलिरहेका थुप्रै ब्रिटिश व्यापारी समुदायका लागि व्यापार सम्झौता एउटा महत्वपूर्ण राहत हुने बताइएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *