नौ वर्षमा सकिएन कन्द्रा नदीमा निर्माणाधीन पुल

टीकापुर । कैलालीको भजनी नगरपालिका–३ स्थित कन्द्रा नदीमा पुल निर्माण शुरु भएको नौ वर्ष बितेको छ । नौ वर्षसम्म पुलको ६० प्रतिशत मात्र निर्माण सम्पन्न भएको निर्माण कम्पनीले जनाएको छ ।

हुलाकी राजमार्गअन्तर्गत बन्न लागेको पुल निर्माण विसं २०६८ बाट शुरु भएको हो । पुल निर्माण सम्पन्न नभएपछि त्यहाँका नागरिकको पुलबाट आवतजावत गर्ने सपना अधुरै छ । पुल साढे दुई वर्षमा निर्माण सम्पन्न गर्ने गरी बिरुवा लामासाल्पा शेर्पा कम्पनीले ठेक्का लिएको तर नौ वर्ष बित्दासमेत पुल बन्न सकेको छैन । चार स्पान र पाँच पिलर भएको पुलको नौ वर्ष बित्दासमेत एउटा स्पान र चार पिलर मात्र निर्माण भएको छ ।

निर्माण शुरु भएको लामो समयसम्म पनि पुल नबन्दा त्यहाँका नागरिकलाई आवतजावत गर्न निकै समस्या भइरहेको भजनी नगरपालिका–३ का सीताराम चौधरी बताउछन । “पुल नभएका कारण यहाँका नागरिकलाई नदी तर्न निकै समस्या छ । सबैलाई अप्ठ्यारो छ । नदी तर्न डुङ्गा तर्नुपर्ने समस्या छ सीताराम भन्छन– ‘‘बालबालिकालाई विद्यालय आउजाउ गर्न अझ समस्या छ । कहिलेकाहीँ राति पनि हिँड्नुपर्ने हुन्छ । राति कसरी डुङ्गा चढ्नु पुल नहुँदा निकै दुःख पाइयो ।

भजनी नगरपालिका ५ र ७ का स्थानीयवासीलाई नगरपालिकामा आउन त्यो नदी तर्नैपर्ने हुन्छ । नदी तर्न निकै समस्या हुने गरेको वडा नं ७ का श्यामलाल थारू बताउछन । हामीलाई सबैभन्दा बढी पीडा नदी तर्नकै छ । दुःख बिमार हुँदा हामी भजनी जान सक्दैनौँ । आपतकालीन अवस्थामा रातिको समयमा नदी तर्न सकिँदैन श्यामलालले भने–कसैलाई सुत्केरी व्यथा लागे हामी राति अस्पतालसम्म पुर्याउन सक्दैनौँ । पुल बन्ने आशा पनि मरेको छैन ।

लामो समयसम्म पुल नबन्दा भजनीको मात्र नभई हुलाकी राजमार्गको पनि गति कम भएको छ । राजमार्ग सञ्चालनमा समस्या भएको छ । यसरी पटक–पटक थपिएको म्यादमा पनि काम नगर्ने ठेकेदार कम्पनीलाई कारवाही गरिनुपर्ने स्थानीय जयबहादुर बुढाको माग छ । समयमै निर्माण सक्नुपर्ने हो, नौ वर्षसम्म पुल निर्माणका नाममा फाइदा लिने निर्माण व्यवसायीलाई सरकारले कारवाही गर्नुपर्छ उनी भन्छन –सम्झौता रद्द गरी अर्को कम्पनीलाई दिएर काम सक्नुपर्छ । नागरिकलाई निकै कष्ट भएको समस्या समाधानमा स्थानीय सरकारले पहल थाल्नुपर्छ ।

बिरुवा लामा साल्पा शेर्पा कम्पनीले आफ्नोतर्फबाट कुनै लापरवाही नभएको प्रतिक्रिया दिएको छ । शुरुमा डिजाइन परिवर्तन हुँदा ढिलाइ भएको र पछि साझेदारले काम नगर्दा ढिलाइ भए पनि अहिले काम जारी रहेको निर्माण कम्पनीले जनाएको छ ।
कोराना महामारीका कारण केही समस्या आए पनि यस आर्थिक वर्षभित्र पुल निर्माण सम्पन्न हुने कम्पनीका साइड प्रतिनिधि नगेन्द्र रावत बताउछन । पहिलो वर्ष विवाद भएर काम गर्न सकिएन, रावत भन्छन–यस वर्ष निर्माण सक्छौँ । यसअघि जेजे भयो, अब यस वर्ष सक्ने गरी काम थालेका छौँ ।

हुलाकी राजमार्ग आयोजना कार्यालय धनगढीका अनुसार चार करोड ४२ लाख लागतमा पुल निर्माणको म्याद थप गर्दै २०७७ माघसम्म पुर्याइएको छ ।
भौतिक पूर्वाधार निर्माणको ठेक्का सम्झौता गरी समयमा काम सम्पन्न नगर्ने निर्माण कम्पनीलाई कानूनी दायरामा ल्याई कारवाही नगर्दासम्म यस्ता समस्या आइरहने स्थानीयवासी बताउँछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *