काठमाडौँ । नेपाली पर्वतारोही मिङ्गमा शेर्पाले तीन महिनाको अवधिमा सात वटा हिमाल आरोहण गरेका छन् । कोरोना भाइरस (कोभिड १९) का कारण बन्द भएको आरोहण गतिविधि खुल्नेवित्तिकै आरोहण अभियानमा उनले नयाँ सफलता प्राप्त गरेका हुन् । मिङ्गमा संसारका ८ हजार मिटरभन्दा अग्ला १४ वटा हिमाल चढ्ने दक्षिण एसियाकै पहिलो आरोही हुन् ।
पर्वतारोही शेर्पाले बुधबार बिहान साढे ९ बजे भाइ दावा साङ्गे शेर्पा तथा स्वीस आरोही सोफी लाभाउडसँगै पिसाङ हिमालको चुचुरोमा पुगेका हुन् । पिसा हिमालसँगै मिङ्गमाले तीन महिनाभित्र सफल आरोहण गरेको हिमालको संख्या सात पुगेको छ ।
कोरोनाको महामारीका कारण घोषणा गरिएको बन्दाबन्दी खुलेसँगै नेपाल सरकारले पर्वतारोहण खुल्ला गरेको थियो । पर्वतारोहण खुल्ला भएलगतैबाट उनले असोज १७ गते लोबुचे हिमाल आरोहण गरेका थिए । लगातार हिमाल चढ्दै आएका उनले मनास्लु, आमादब्लम, आइल्याण्ड पिक, मेरापिक तथा पछिल्लोपटक रसुवाको लाङटाङ क्षेत्रमा पर्ने कुङ्ग्यारी दोस्रा्े हिमालको आरोहण गरेका थिए । कुङ्ग्यारी दोस्राे हिमालको शिखरमा पुग्ने उनी पहिलो आरोही हुन् ।
आरोहण अभियानकै क्रममा उनले अबकाे गन्तब्य अफ्रिकाको सबैभन्दा अग्लो हिमाल किलिमान्जरोकाे शिखर तय गरेका छन् । उनी सेभेन समिट ट्रेक्सका अध्यक्षसमेत हुन् ।