अक्सफर्डको अर्को खोपलाई बेलायतमा प्रयोगका लागि अनुमति

अक्सफर्ड यूनिभर्सिटी र एस्ट्राजेनेकाले कोरोनाभाइरसविरुद्ध बनाएको अर्को खोपले बेलायतमा प्रयोगका लागि अनुमति पाएको छ । उक्त खोपलाई धेरै कम तापक्रममा भण्डारण गर्नुपर्ने बाध्यता नभएकाले निकै उपयोगी हुने अपेक्षा गरिएको छ ।

बेलायत सरकारले यो खोपका १० करोड मात्रा झिकाइसकेको छ । बेलायतमा प्रयोगका लागि अनुमति पाउने यो दोस्रो खोप हो । यसअघि डिसेम्बरको सुरुतिर फाइजर बायोएन्टेकले बनाएको खोप कोभिड १९ विरुद्ध प्रयोग हुन थालेको थियो ।

चीनमा पनि सिनोफार्मले बनाएको अर्को खोप तीन चरणको परीक्षणपछि ७९ प्रतिशत प्रभावकारी देखिएको बताइएको छ । बायोएन्टेक र मोडेर्नाले बनाएका खोपहरू कोभिड १९ विरुद्ध बढी प्रभावकारी देखिएका छन् ।

बेलायतका स्वास्थ्यमन्त्रीले जनवरी ४ देखि यो खोप दिन थालिने बताएका छन् । उनका अनुसार नयाँवर्षका प्रारम्भिक साताहरूमा खोप अभियान तीव्र गतिमा अघि बढ्नेछ ।

बेलायतले एस्ट्राजेनेकाबाट मगाएको खोपको मात्रा पाँच करोड मानिसका लागि पर्याप्त छ । औषधिहरूको नियामक निकायले अनुमति दिनुको अर्थ उक्त खोप सुरक्षित र प्रभावकारी छ भन्ने हो । अक्सफर्ड एस्ट्राजेनेकाले विकसित गरेको यो खोप गत अप्रिल महिनामा एक स्वयंसेवकमा परीक्षण गरिएको थियो । त्यसपछि हजारौँ मानिस सहभागी हुनेगरी ठूलो स्तरमा क्लिनिकल परीक्षण गरिएको थियो ।

अहिलेसम्म बेलायतमा छ लाखभन्दा बढी मानिसले फाइजर बायोएन्टेकको खोप लगाइसकेका छन् । अक्सफर्ड एस्ट्राजेनेकाको खोप सस्तो र एकैचोटि ठूलो मात्रामा उत्पादन गर्न सकिने भएकाले खोप लिने मानिसको सङ्ख्या उल्लेख्य रूपमा बढ्ने अपेक्षा गरिएको छ ।

यो खोप फ्रिजमा पनि भण्डारण गर्न सकिन्छ । तर फाइजर बायोन्टेकको खोपलाई –७० डिग्रीको तापक्रममा राख्नुपर्ने बाध्यता छ । खोप अभियानमा अब यथासम्भव बढी मानिसलाई सहभागी गराइनेछ ।

जोखिममा परेका मानिसलाई सकेसम्म धेरै सङ्ख्यामा कोभिड(१९ बाट जोगाउन खोपको पहिलो मात्रा उपलब्ध गराउने सरकारको लक्ष्य छ । खोपसम्बन्धी विषय हेर्ने एउटा सरकारी समितिको सुझावमा यो निर्णय लिइएको हो ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ताका अनुसार छोटो अवधिमै खोपको दोस्रो मात्रा उपलब्ध गराउनुको साटो अहिले जोखिमयुक्त समूहका मानिसलाई पहिलो मात्रा दिने कुरालाई प्राथमिकता दिइनेछ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *