प्रज्जवल थापा । भारत विरुद्वको पहिलो टेस्टमा अस्ट्रेलिया विजयी भएको छ । पहिलो टेस्टको तेस्रो दिनमा अस्ट्रेलिया ८ विकेटले विजयी भएको हो ।
अलिडेट ओभलमा भएको खेलमा ९० रनको झिनो विजयी लक्ष्य पछ्याएको अस्ट्रेलियाले २ विकेटको क्षतिमा ९३ रन बनाउदै लक्ष्य भेट्टायो । अस्ट्रेलियाको लागि जोए बुर्न्सले अर्ध सतक पुरा गरे । उनले ६३ बल खेल्दै ७ चौका र १ छक्कको मद्दतमा ५१ रन जोडे । यस्तै म्याथेउ वेड ३३ रन बनाएर आउट हुँदा मार्नुस लाबुस्चागेले ६ रन जोडे ।
भारतको लागि रविचन्द्रन आश्विनले ६ ओभर बलिङ गर्दै १ मेडन राखेर १६ रन खर्चिदै १ विकेट लिए ।
यसअघी तेस्रो दिनमा भारत २१.२ ओभरमा ३६ रनमा अल आउट भएको हो । टेस्ट इतिहासमा भारतीय टीमले बनाएको यो सबैभन्दा कम स्कोर हो ।
पहिलो टेस्टको तेस्रो दिनमा ९-१ को स्थितिमा खेलको शुरुवात गरेको भारतको ब्याटिङ निकै कमजोर देखिएको हो । दोस्रो इनिङ्समा भारतको लागि कुनैपनि ब्याट्सम्यानले दोहोरो अङ्क जोड्न सकेनन् । मयङ्क अग्रवालले ४० बलमा सार्वधिक ९ रन जोडे । यस्तै हनुमा विहारीले ८ रन जोड्दा कप्तान विराट कोईली, पृथ्वी शह, वृद्विमान साह, उमेश यादवले समान ४/४ रन जोडे । पुजरा, रहाणे र अश्विनले खाता खोल्नपनि सकेनन् ।
अस्ट्रेलियाको लागि हज्लेवुडले ५ ओभर बलिङ गर्दै ३ मेडन राखेर ८ रन खर्चिदै ५ विकेट लिए । कमिङ्सले १०.२ ओभरमा ४ मेडन राख्दै २१ रन खर्चेर ४ विकेट लिए । पहिलो इनिङ्समा भारतले २४४ जोडेको थियो भने अस्ट्रेलियाले १९१ रन जोडेको थियो ।
जितसँगै अस्ट्रेलियाले ४ खेलको टेस्ट सिरिजमा १-० को अग्रता लिएको छ ।
