चेल्सीको लगातार दोस्रो हार

प्रज्जवल थापा । इङलिस प्रिमियर लिगमा चेल्सीले लगातार दोस्रो हार बेहोरेको छ । मंगलबार राति भएको खेलमा चेल्सी वोल्भससँग स्तब्ध भएको हो ।

घरेलु मैदानमा भएको खेलमा वोल्भसले चेल्सीलाई २-१ गोल अन्तरले पराजित गरेको हो । वोल्भसलाई जित दिलाउन डानियल पोडेन्से र पेड्रो नेटोले एक-एक गोल गरे । चेल्सीको लागि ओलिभिएर जिरोउडले गरेको गोल सान्तवनामा सिमित रह्यो । सबै गोल दोस्रो हाफमा भएको थियो ।

खेलमा शुरुवाती अग्रताभने चेल्सीले लिएको थियो । खेलको ४९ औँ मिनेटमा बेन चिलवेलको पासमा ओलिभिएर जिरोउडले गोल गर्दै पाहुना टोलीलाई अग्रता दिलाएका थिए । ६६ औँ मिनेटमा ओवेन ओटासोवेको पासमा डानियल पोडेन्सेले गोल गर्दै वोल्भसलाई बराबरीमा ल्याए ।

बराबरीतिर धकेलिएको खेलको अतिरिक्त समयको छैटौँ मिनेटमा भिटिन्हाको पासमा पेड्रो नेटोले गोल गर्दै वोल्भसलाई २-१ गोलको जित दिलाए । जितसँगै वोल्भस १३ खेलमा २० अङ्क जोड्दै दसौं स्थानमा उक्लिएको छ । पराजित चेल्सी १३ खेलमा २२ अङ्कको साथ पाँचौ स्थानमा यथावत छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *