काठमाडौं । नेपाल र जर्मनीबीचको आर्थिक सम्बन्धलाई फराकिलो बनाउँदै लैजानुपर्नेमा दुवै देशका सरकारी तथा गैरसरकारी संस्थाका प्रतिनिधिहरुले जोड दिएका छन् ।
जर्मन नेपाल मैत्री सङ्घको आयोजनामा हालै भएको ३१ औँ नेपाल दिवस ‘मेरो नेपाल’ विषयक वेबिनारमा सहभागी वक्ताहरुले कोभिड–१९ पछिको अवस्थामा नेपालको आर्थिक समृद्धिका लागि बाह्य सहयोग अभिवृद्धिको खाँचो अझ बढेर गएको बताएका हुन् ।
कार्यक्रममा जर्मनीका लागि नेपाली राजदूत रामकाजी खड्काले कोरोना महामारीका कारण नेपालको आर्थिक वृद्धि दर ८दशमलव५ बाट झण्डै दुई प्रतिशतमा झरेको उल्लेख गर्दै यसका कारण धेरैको रोजगारी गुमेको, जीविकोपार्जनमा झन कठिनाइ भएको र उपभोगको अवस्था खस्किएको बताए । उनले सन् २०२२ सम्म अतिकम विकसित राष्ट्रबाट विकासशील राष्ट्रको स्तरमा उक्लने र सन् २०३० सम्म दिगो विकास लक्ष्य हासिल गरी समृद्ध नेपाल बनाउने अभियानलाई पूरा गर्न दातृ राष्ट्र तथा सङ्घसंस्थाहरुको भूमिका महत्वपूर्ण रहने उल्लेख गरे । राजदूत खड्काले नेपालको शिक्षा, स्वास्थ्य, ऊर्जा, पुनर्निर्माणलगायत विकासमा जर्मनी सरकारको योगदान उच्च रहेको बताउँदै कोभिड–१९ बाट सिर्जित स्वास्थ्य सुधार, रोजगारी सिर्जना र आर्थिक उन्नतिमा पनि जर्मनीस्थित गैरसरकारी संस्थाहरुले ठूलो सहयोग गर्नसक्ने विश्वास व्यक्त गरे ।
नेपालका लागि जर्मनीका राजदूत रोल्याण्ड सेफरले कोभिड–१९ ले पारेको असर न्यून गर्न र आर्थिक एवं मानवीय सहयोगका क्षेत्रमा जर्मनीमा रहेका गैरसरकारी संस्थाले खेलेको भूमिका महत्वपूर्ण रहेको बताए । उनले जर्मनी सरकारका तर्फबाट नेपालको विकासमा लामो समयदेखि सहयोग रहँदै आएको उल्लेख गर्दै पछिल्लोपटक नेपालको वर्तमान स्वास्थ्य सेवाका लागि एक करोड यूरो र आर्थिक विकासका लागि ३४ करोड यूरो सहयोग गरेको जानकारी दिए। राजदूत सेफरले हरित क्रान्ति नभएसम्म दिगो विकास सम्भव नहुने भन्दै आफूले प्राविधिक शिक्षालाई विशेष जोड दिएको बताए ।
मैत्री सङ्घका अध्यक्ष तथा महावाणिज्यदूत रामप्रताप थापाले बर्सेनि आयोजना हुने नेपाल दिवस कोरोना महामारीका कारण केही ढिला भएको बताउँदै यसपटक मेरो नेपाल विषयमा आयोजना गरिएको दिवसले नेपालप्रति सद्भाव राख्ने जर्मनीमा रहेका गैरसरकारी संस्थाहरुबाट थप सहयोग जुटाउन मद्दत पुग्ने विश्वास व्यक्त गरे । गैरआवासीय नेपाली सङ्घ(एनआरएनए)का अध्यक्ष कुमार पन्त र पूर्वअध्यक्ष जीवा लामिछानेले कोभिड–१९ बाट प्रभावित जनतालाई राहत तथा आर्थिक उन्नतिका लागि विदेशी दातृ संस्थाहरुको भूमिका महत्वपूर्ण रहने बताए । पूर्व राजदूत एवं अर्थशास्त्री प्राडा विश्वम्भर प्याकुरेलले कोरोनाले नेपालको अर्थतन्त्रमा परेको प्रभाव र आगामी दिनमा आर्थिक विकासका लागि गर्नुपर्ने कार्यका बारेमा प्रकाश पारे ।
कार्यक्रममा जर्मनीस्थित विभिन्न सङ्घसंस्थाका प्रतिनिधिहरुले नेपालसम्बन्धी विभिन्न कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । प्राडा गुन्थर नोग्गेले नेपालमा गैँडा संरक्षणका लागि गर्नुपर्ने पहल, प्रा डा वियाट्रिस केनेरले प्राविधिक शिक्षा र आर्थिक समृद्धि, निकोले डोरिङले समृद्ध नेपाल र सुखी नेपाली, सबिन पे्रस्चले कोरोनाबाट पर्यटनमा परेको असर, प्रा डा उल्रिके मुलर बोकरले जेष्ठ नागरिकको हकहित, वरिष्ठ सर्जन प्राडा मलख श्रेष्ठ तथा डा आर्ने ड्रिउसले नेपालमा कोभिड महामारीको अवस्थाका बारेमा प्रकाश पार्नुभएको थियो ।
यस्तै बन्र्ड सेफरले भूकम्पपछिको पुनर्निर्माणको अवस्था, शैला वाइफेनले युवा जनशक्तिको सम्भावना, डायटर स्नुरले धामीझाङ्क्रीको उपचार पद्दति, डा लूना भारतीले सांस्कृतिक सम्पदाहरुको संरक्षण र हेनर बेकरले नेपालको जैविक कृषि र करेसावारीको सम्भावना विषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।
नयाँ कार्यसमिति चयन
जर्मन नेपाल मैत्री सङ्घको हालै जर्मनको कोलोन शहरमा सम्पन्न अधिवेशनले रामप्रताप थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । सन् २०२०–२०२३ सम्मका लागि भएको सङ्घको निर्वाचनमा उपाध्यक्षमा अल्का खनाल र नर्बट मायर छन भने कोषध्यक्षमा उवे हेन्स र सचिवमा क्रिस्टिन पेत्रास छन ।
यस्तै सदस्यहरुमा क्याट्रेन अल्थाउस, कमला दाहाल, प्रा डा अष्ट्रिड फुन्के र तमारा ब्युलो छन । कार्यसमितिको कार्यकाल तीन वर्षको रहनेछ । जर्मन नेपालबीचको मैत्री सम्बन्धलाई जनस्तरमा विस्तार गर्ने र गैरसरकारी संस्थाहरुमार्फत नेपालको विकासमा सहयोग गर्ने उद्देश्यले ५३ वर्षअघि सङ्घको स्थापना गरिएको थियो ।
