पोखरा । मङ्सिर ८ गते पोखरामा फिष्टेल नेपालको प्याराग्लाइडिङ दुर्घटनाको छानबिन गर्न तीन सदस्यीय समिति गठन गरिएको छ । कोभिड–१९ का महामारीबीच पनि आन्तरिक पर्यटकले निकै रुचाएको प्याराग्लाइडिङ उडानमा अनुभवी प्यारा पाइलट राजु गैरे (नेपाल) को निधन भएपछि दुर्घटनाको सत्यतथ्य बुझ्न छानबिन समिति गठन गरिएको हो ।
दुर्घटनामा टेन्डम पाइलटको ज्यान गएपछि नेपाल नागरिक उड्डयन प्राधिकरणले तीन सदस्यीय छानबिन समिति गठन गरेको थियो । प्राधिकरणका एयर ट्राफिक सर्भिस अफिसर अनुप जोशीको संयोजकत्वमा प्याराग्लाइडिङ पाइलट दीपक थापा र प्राधिकरणका अधिकृत देवराज सुवेदी सदस्य रहने गरी छानबिन समिति गठन गरेको हो ।
समितिले ३० दिनभित्र प्राधिकरणलाई प्रतिवेदन पेश गर्नेछ । त्योसँगै प्राधिकरणले नेपाल हवाई खेलकूद संस्था (एनएए)लाई पनि दुर्घटनाका बारेमा जवाफ मागेको थियो । झण्डै दुई दशकदेखि प्याराग्लाइडिङको क्षेत्रमा क्रियाशील रहेको एनएएले पछिल्लो दुर्घटनामा प्यारा पाइलट नै दोषी भएको निष्कर्षसहितको प्रतिवेदन प्राधिकरणलाई बुझाएको छ ।
एनएएका उपाध्यक्ष नारायणप्रसाद पराजुलीको संयोजकत्वमा पाँच सदस्यीय अध्ययन समितिले उक्त दुर्घटनाका विभिन्न पक्षको प्रक्रियागत अध्ययन गरी बुझाएको प्रतिवेदनको अन्तिम निष्कर्षमा ‘पछिल्लो समयमा विकसित भएको अतिरिक्त गतिविधिमध्येको फूल टिपी प्यासेन्जरलाई दिन खोज्दा देब्रे हातको ब्रेक छुट्न गएको र ग्लाइडर असन्तुलित हुँदा स्पिन भएको र स्पिडमा झरी दुर्घटना भएको’ उल्लेख गरिएको छ ।
त्यसैगरी प्राधिकरणबाट आठजना प्यारा पाइलटहरु नियम विपरीतको गतिविधिमा संलग्न भएको भन्ने पत्र संस्थामा आएको पराजुलीले जानकारी दिए । उनले भने, “प्राधिकरणले सुरक्षा विपरीत गतिविधिमा संलग्न भएका आठ प्यारा पाइलटको नामसमेत पठाएको छ, उहाँहरु प्राधिकरणमा उपस्थित भएर आफ्नो जवाफसमेत दिइसक्नुभएको छ ।” पराजुलीले प्राधिकरणको छानबिन प्रतिवेदन आएपछि मात्र अन्य थप कुरा थाहा हुने बताए ।
