USAID

मोन्चेनग्लाडबाकलाई हराउँदै रियल म्याड्रिड च्याम्पियन्स लिगको नकआउट चरणमा

प्रज्जवल थापा । स्पेनिस च्याम्पियन रियल म्याड्रिड युईएफए च्याम्पियन्स लिगको नकआउट चरणमा प्रवेश गरेको छ । बुधबार राती भएको खेलमा म्याड्रिडले बोरुसिया मोन्चेनग्लाडबाकलाई २-० गोल अन्तरले पराजित गर्दै नकआउट चरणको टिकट काटेको हो ।

घरेलु मैदान अल्फ्रेडो डि स्टेफेनोमा भएको खेलमा रियल म्याड्रिडलाई जित दिलाउन करिम बेन्जिमाले दुई गोल गरे । म्याड्रिडले दुवै गोल पहिलो हाफमा गरेको थियो । खेलको नवौँ मिनेटमा लुकास भास्क्वेजको क्रसमा करिम बेन्जिमाले गोल गर्दै रियल म्याड्रिडलाई खेलमा अगाडी बढाएका थिए ।

यस्तै ३२ औँ मिनेटमा रोड्रिगोको पासमा बन्जिमाले व्यक्तिगत दोस्रो गोल गर्दै रियलको अग्रता दोब्बर पारे । दोस्रो हाफमा दुवै टोलीले थप गोल हुन नसक्दा रियल म्याड्रिड २-० गोल अन्तरले विजयी भएको हो ।

जितसँगै रियल म्याड्रिड ६ खेलमा १० अङ्क जोड्दै शिर्ष स्थानमा रहेर नकआउट चरण प्रवेश गरेको छ । यस समुहबाट बोरुसिया मोन्चेनग्लाडबाकपनि ६ खेलमा ८ अङ्क जोड्दै दोस्रो स्थानमा रहेर नकआउट चरणमा प्रवेश गरेको छ । समुहको अर्को खेलमा इन्टर मिलान र शाख्तर डोनेटेक्सले गोल रहित बराबरी खेलेका छन् । बराबरीसँगै इन्टर मिलान समूह चरणबाटै बाहिरिएको छ भने शाख्तर युरोपा लिगको प्लेअफको लागि छनोट भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *