USAID

यतिबेला सरकार गिराउने र पार्टी अध्यक्ष परिवर्तन गर्ने समय होइनः मुख्यमन्त्री गुरुङ

लमजुङ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले यतिबेला प्रधानमन्त्री केपी शर्मा ओलीको विकल्प खोज्नु भनेको बिजुलीको सट्टा अगुल्टो खोज्नुजस्तै भएको बताएका छन् । उदिपुर–रिठ्ठेवगर–रामचोकबेसी–नौथरबेँसी–शेरा कालोपत्र सडकको बेँसीशहर नगरपालिका–११ चितीमा मङ्गलबार शिलान्यास कार्यक्रममा गुरुङले एकीकृत कम्युनिष्ट पार्टी निर्माणको यो अभियानमा दुई अध्यक्षको महत्वपूर्ण योगदान रहेकाले उहाँहरुको संवाद र सहकार्य अपरिहार्य रहेको बताए । उनले यतिबेला सरकार गिराउने र पार्टी अध्यक्ष परिवर्तन गर्ने समय नरहेको बताए ।

गुरुङले भने, “यो सरकारलाई जनताले पाँच वर्षका लागि जनादेश दिएका छन्, पार्टी अध्यक्ष हुने हो भने महाधिवेशनसम्म पर्खनुपर्छ । पार्टी एकताको मर्म भनेको अल्पमत र बहुमतको खेल खेल्न होइन ।” मुख्यमन्त्री गुरुङले एकताको मर्म भनेको दुई अध्यक्षले बैठकको एजेण्डा तय गरी सहकार्य र सहमतिमा अघि बढ्दै पार्टी एकताका बाँकी काम सम्पन्न गरी महाधिवेशन गर्नुपर्ने बताए ।

“यो समय प्रचण्डले प्रधानमन्त्रीको राजीनामा र प्रधानमन्त्रीले प्रचण्डको राजीनामा माग्ने बेला होइन, एकले अर्कालाई आरोप लगाउने अधिकार पनि छैन” गुरुङले भने । गुरुङले अध्यक्ष बन्न मन लागे चार महिना पर्खने धैर्य गर्नुपर्ने भन्दै सरकार भने पूरा अवधि रहने बताए । “जनताको जनादेश पाँच वर्षका लागि स्थायी सरकार हो । सरकारले अहिलेसम्म कुनै सरकार र प्रधानमन्त्रीले गर्न नसकेको काम गरेको छ । यो सरकार पाँच वर्ष टिक्छ । राजीनामा माग्नु जनमतको जनादेशविपरीत हुन्छ । जहाँसम्म पार्टी अध्यक्षको कुरा छ त्यो महाधिवेशनले तय गर्छ”, उनले भने ।

पार्टी एकतालाई जोगाउन दुई अध्यक्ष ओली र प्रचण्डको महत्वपूर्ण योगदान रहने भए पनि नेतृत्व गर्छु भन्ने अरु नेता खिया लागिसकेकाले उनीहरुतिर फर्केर समस्याको समाधान नहुने उनको भनाइ थियो । मुख्यमन्त्री गुरुङले भने, “प्रधानमन्त्री ओलीले अबको महाधिवेशनमा अध्यक्ष नउठ्ने बताउनुभएको छ । यस्तै शैली हो भने एकता महाधिवेशन गर्ने र सहमतिमा अध्यक्ष बन्ने कुरा प्रचण्डले समेत गुमाउन लागिसक्नुभयो ।”

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *