नेपाली र चिनियाँ जनताको साझा सम्पत्तिको रुपमा सगरमाथाको संरक्षण गर्ने इच्छा छः राष्ट्रपति सी

काठमाडौँ । चीनका राष्ट्रपति सी चिन फिङले नेपाली र चिनियाँ जनताको साझा सम्पत्तिको रुपमा विश्वको सर्वाच्च शिखर सगरमाथाको संरक्षण गर्ने इच्छा लिएको बताएका छन् । नेपाली समकक्षी विद्यादेवी भण्डारीलाई सम्बोध गर्दै सगरमाथाको पछिल्लो उचाइ सार्वजनिक गर्ने कार्यक्रमलाई पठाएको सन्देशमा राष्ट्रपति सीले चीनले नेपालसँग मिलेर सगरमाथाको पर्यावरणीय र वातावरणीय संरक्षण र वैज्ञानिक अध्ययन सहयोगलाई प्रवर्द्धन गर्दै दुबै देशका जनताको साझा सम्पत्तिको रुपमा संरक्षण गर्ने इच्छा लिएको बताएका हुन् ।

चीन र नेपालले संयुक्तरूपमा सगरमाथाको पछिल्लो उचाइको घोषणा गर्ने गतवर्ष सहमति गरेको भन्दै उनले एक वर्षयता दुबै देशले विभिन्न कठिनाइ पार गरी बल्ल ग्लोबल एलिभेसन डाटामा आधारित हिउँले ढाकिएको सगरमाथाको उचाइ निश्चित गरिएको जानकारी दिए । उनले राष्ट्रपति भण्डारीसँग नेपाल र चीन दुबै देशको तर्फबाट विश्वसामु सगरमाथाको पछिल्लो उचाइ ८८४८.८६ मिटर भएको घोषणा गर्न पाउँदा खुशी लागेको पनि बताए ।

राष्ट्रपति सीले सगरमाथा दुई देशबीच युगौँ युगदेखि मित्रताको महत्वपूर्ण प्रतीक भएको उल्लेख गर्दै विश्वको सर्वाेच्च शिखरको रूपमा रहेको सगरमाथालाई चीन र नेपालबीचको सीमा शिखर र “चीन–नेपाल मितेरी शिखर”को रूपमा दुई देशले स्थापित गरेको बताए । सगरमाथाको नयाँ उचाइको संयुक्तरूपमा घोषणा गर्ने समयको विशेष महत्व रहेको भन्दै राष्ट्रपति सीले चीन–नेपाल सम्बन्धको दीगो विकासको उच्चस्तर पनि त्यसले पूर्णरूपमा प्रतिबिम्बित भएको उल्लेख गरे ।

त्यसैगरी चिनियाँ राष्ट्रपति सीलाई सम्बोधन गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले सगरमाथा नेपाल–चीन परम्परागत मित्रताको दीर्घकालीन प्रतीक हो भन्दै हिउँले छोपिएको त्यसको नयाँ उचाइ घोषणा गर्दा आफूलाई निकै खुशी लागेको बताइन् । राष्ट्रपति भण्डारीले आज दुई पक्षले सगरमाथाको उचाइको संयुक्तरूपमा घोषणा गर्नुको ऐतिहासिक अर्थ रहेको उल्लेख गर्दै गतवर्ष राष्ट्रपति सीबाट भएकाे नेपालको राजकीय भ्रमणले नेपाल–चीन सम्बन्ध र द्वीपक्षीय सहयोगलाई नयाँ उचाइमा पुर्याएको बताइन् । भ्रमणका अवसरमा गरिएका सहमतिलाई व्यवहारमा उतार्न दुई देशका सरकारले प्रयास गर्नुपर्नेमा जोड दिँदै राष्ट्रपति भण्डारीले आर्थिक तथा सामाजिक विकास एवम् समृद्धिलाई संयुक्तरूपमा साकार तुल्याउनुपर्ने धारणा राखिन् ।

राष्ट्रपति सीकाे सन्देश चिनियाँ विदेशमन्त्री वाङ्ग यी तथा राष्ट्रपति भण्डारीकाे सन्देश परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले पढेर सुनाएका थिए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *