USAID

जनकपुरधाम विमानस्थलको नवनिर्मित टर्मिनल भवनको उद्घाटन

  • 4
    Shares

जनकपुरधाम । जनकपुरधाम विमानस्थलको नवनिर्मित टर्मिनल भवन तथा कन्ट्रोल टावरको उद्घाटन गरिएको छ । मंगलबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले टावरको उद्घाटन गरेका हुन् । २०६९ साल कात्तिक महिनादेखि शुरू गरिएको टर्मिनल भवनको निर्माण कार्य झण्डै ८ वर्ष पश्चात सम्पन्न भएको हो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री भट्टराईले जनकपुरधाम उपमहानगरपालिका र सम्बन्धित सम्पूर्ण निकायहरुको समन्वयमा विमानस्थलको नाम जनकपुर विमानस्थलबाट जनकपुरधाम विमानस्थलमा परिणत गर्न आफ्नो तर्फबाट पहल गर्ने आश्वासन दिएका छन् ।

उनले तराईको भूभागमा पहाड भन्दा कम खर्च र कम जोखिममा विमानस्थल निर्माण गर्न सकिने भएकाले आगामी दिनहरुमा जनकपुर विमानस्थलको क्षमता अझ बिस्तार गर्ने बताए ।

नयाँ टर्मिनल भवन सञ्चालनमा आएसँगै जनकपुरधाम विमानस्थलमा रहेको ५ दशक पुरानो टर्मिनल भवन विस्थापित भएको छ । २०६९ साल कात्तिक महिनामा १८ करोड रुपैयाँको लागतमा निर्माण गर्न तत्कालीन पर्यटन तथा नागरिक उड्डयनमन्त्री पोष्टबहादुर बोगटीले टर्मिनल भवनको शिलान्यास गरेका थिए ।

डेढ वर्षभित्र निर्माण कार्य सम्पन्न गर्ने गरी निर्माणका लागि पप्पु एण्ड एनके कन्स्ट्रक्सन तथा नेपाल नागरिक उड्डयन प्राधिकरणबीच विसं २०६९ असोज १५ मा सम्झौता भएको थियो ।


  • 4
    Shares
CivActsAd

Leave a Reply

Your email address will not be published. Required fields are marked *