इलाम । तीन वर्षअघि यहाँस्थित देउमाई नगरपालिकाको पानीटारका बारेमा अधिकांश जिल्लावासी नै बेखबर थिए । चियाबारी भन्नेब्त्तििकै कन्याम, श्रीअन्तु मात्र बुझिने भएकाले पानीटार गुमनाम थियो ।
केही पर्यटकले इलाम चियाबारी र जस्वीरे घुम्ने गरे पनि पानीटारको नाम कहिल्यै आउँदैनथ्यो ।
स्थानीय तह र सम्बन्धित निकाय ९पर्यटनसम्बद्ध० ले चासो नदिएकै कारण पानीटार ओझेलमा पर्यो तर अहिले पानीटारले पूरै काँचुली फेरेको छ । स्थानीयवासी मात्र होइन, अन्तर जिल्लाको पर्यटकको पनि नयाँ गन्तव्य बनेको छ पानीटार । कतै अग्लो र कतै होचो तर मिलेको चियाबारी यहाँको मुख्य आकर्षण हो ।
अन्तु बिर्साउने चिसो र पर्यटक तान्ने वनभोजस्थल यहाँको अर्को विशेषता हो । पर्यटक मात्र होइन, पानीटारमा अहिले चलचित्र खिच्ने र म्युजिक भिडियो बनाउने क्रम पनि शुरु भएको छ । इलाम सदरमुकामबाट करिब ३० किमीको दूरीमा पर्ने पानीटार पुग्न इलाम सदरमुकाम–बिब्ल्याँटे बजार–नेपालटार र गाग्रेभञ्ज्याङ पुगेर केही तलतिर झर्नुपर्छ ।
सदरमुकामबाट गाग्रेभञ्ज्याङसम्म पक्की र गाग्रेभञ्ज्याङदेखि केही ओरोलो कच्ची बाटो हिँडेपछि पानीटार पुगिन्छ । यसका साथै झापाको विर्तामोड–शनिश्चरे हुँदै मङ्गलबारेको बाटो पनि पानीटार पुग्न सकिन्छ ।
पछिल्लो समय सदरमुकामको बाटोभन्दा झापाबाट आउने बाटो छोटो भएकाले बढी पर्यटक यही बाटो आउँछन् । यो बाटो झापाबाट ५३ किमी हिँड्दा नै मङ्गलबारे पुगिन्छ ।
हिउँदमा मनोरञ्जनका लागि आउने गतिलो गन्तव्य पानीटार बनेको यहाँका पर्यटन व्यवसायी पासाङ शेर्पा बताउछन । शेर्पाका अनुसार मिडियाको प्रचारले नै पानीटार पर्यटकीय क्षेत्र बनेको हो । कुनै निकायले यसको प्रचारका लागि चासो देखाएनन् । मिडियाको प्रचारले नै अहिले पानीटार पर्यटकीय क्षेत्र बन्दैछ”, शेर्पाले भने– आउँदो साल माथिल्लो क्षेत्र (गाग्रेभञ्ज्याङ) बाट आउने कच्ची सडक पक्की भएपछि आवागमनका लागि झनै सहज हुन्छ ।
पछिल्लो समय म्युजिक भिडियो र चलचित्रको छायाङ्कन गर्ने स्थल हो पानीटार । केही समयअघि मात्रै युट्युबमा सर्वाधिक रुचाइएको म्युजिक भिडियो ‘तीनपाते’ देखि प्रियङ्का कार्की र आयुष्मान देशराज जोशी अभिनित ‘प्रेम दिवस’ चलचित्रमा समेत पानीटारको सुन्दर चियाबारी राखिएको छ ।
प्राकृतिक छायाङ्कनस्थलका रूपमा विकास हुँदै गरेको यहाँ आकर्षक चियाबारी र शान्त क्षेत्र भएकाले आफूहरू यस क्षेत्रमा सुटिङ गर्न आउने गरेको चलचित्र निर्देशक केवल तामाङ बताउछन । प्राकृतिक क्षेत्रको प्रचार अनि दर्शकको आँखा अड्याउने ‘भर्जिन ल्याण्ड’ भएकाले धेरै रजतपटकर्मी आउने गरेको तामाङ बताउछन ।
हामीले चलचित्रका माध्यमबाट पर्यटकीय क्षेत्रको प्रचार गर्न सक्छौँ, त्यसका लागि हामीलाई पनि नयाँ–नयाँ ‘डेस्टिनेशन’ चाहिन्छ , तामाङले भने –यी सबै पक्ष पानीटारमा छ, यसैले अहिले पानीटार आएका हौँ । तामाङसमेत चलचित्र कृष्णलीलाको छायाङ्कनका लागि पानीटार पुग्नुभएको छ । चलचित्रको मुख्य छायाङ्कनस्थल पनि पानीटार नै हो तर निर्देशक तामाङ स्थानीय तहले यस्ता मुख्य गन्तव्यस्थललाई चासो नदिँदा सधैँ पछाडि पर्ने बताउछन ।
हाम्रा जनप्रतिनिधिलाई चलचित्र पनि पर्यटकीयस्थलको प्रचार माध्यम हो भन्ने थाहै छैन तामाङले भने चलचित्र खिच्न आउन मन लाग्छ तर सबै लागत आफैँले व्यहोर्नुपर्दा लागत बढ्छ । स्थानीय तहले केही हिस्सा व्यहोर्दा धेरै सहज हुन्थ्यो तर भएको छैन । हुन त इलाम आफैँ पनि पर्यटकीय क्षेत्रको अब्बल क्षेत्र हो ।
श्रीअन्तु, कन्याम, माईपोखरीमा वर्षैभर पर्यटक घुम्छन् । यी क्षेत्रका बासिन्दाको कमाइखाने मेलो नै पर्यटक हो । घरवास, होटल खोल्ने, स्थानीय परिकारको स्वाद चखाउने कारणले नै पर्यटक पल्किन्छन् तर पानीटारमा चाहिँ अहिलेसम्म व्यवस्थित खानपान र बस्ने ठाउँको अभाव छ । भर्खरै पर्यटकीय क्षेत्र बन्दै भएकाले पनि घरवास खुल्ने क्रममा छन् । पर्यटक बढ्दै जाँदा स्थानीयवासीले घर–घरमा होटल सञ्चालन गर्न थालेको पर्यटन व्यवसायी पासाङ शेर्पा बताउछन ।
उनका अनुसार अहिलेसम्म पानीटारमा व्यवस्थित होटल छैन । बस्ने व्यवस्था नभएकाले लामो समय पानीटारमा रहँदैनन् । अब भने पर्यटन व्यवसायीकै सहकार्यमा बस्ने प्रावधान मिलाउने योजना बनाउँदै आएको समेत शेर्पा बताउछन ।
अहिले पानीटारमा शनिबार र शुक्रबार करिब २०० को हाराहारीमा पर्यटक भित्रिन्छन् । विशेषतः घुमघाम र हिउँदमा वनभोज आउनेको सङ्ख्या बढी हुन्छ । अहिले वनभोजका लागि त हामीले स्थानीय सिंहदेवी सामुदायिक वनको २५ प्रतिशत क्षेत्रमा वनभोज क्षेत्र बनाएका छौँ शेर्पाले भने । यहाँ निजी र सामुदायिक दुई किसिमको चियाबारी छ ।
स्थानीय तहले नदेखेको पानीटार
चलचित्र निर्देशक तामाङले भनेझैँ पानीटारको प्रवद्र्धनमा स्थानीय तहको ध्यान गएको देखिँदैन । देउमाई नगरपालिकामा पर्ने यस क्षेत्रमा स्थानीयवासी र मिडियाकर्मीकै भरमा प्रवद्र्धन भएको पर्यटन व्यवसायी शेर्पा बताउछन ।
यता नगरपालिकाले पनि पानीटारमा मात्र नभई पर्यटकीय क्षेत्रमा आफ्नो ध्यान नगएको स्वीकारेको छ । नगरका प्रवक्ता एवं वडा नं ३ का वडाध्यक्ष दावा तामाङले आफूहरू सडक निर्माणका काममा खटिएकाले पर्यटनमा ध्यान नगएको बताउछन । सबै पक्षको ध्यान जाने हो भने पानीटार केही वर्षमै पर्यटकीयस्थल बन्ने पर्यटनकर्मी शेर्पाको भनाइ छ । पानीटारमा खानेपानी अभाव टार्नका लागि केही महिनाअघि मोटरबाट तानेर उपलब्ध गराउन थालिएको छ ।