सामाजिक सुरक्षा कोषको कार्यविधि संशोधन हुँदै योगदानकर्ताले ६० वर्ष नपुग्दै पनि रकम निकाल्न पाउने

 

काठमाडौ । सामाजिक सुरक्षा कोषमा आबद्ध हुन कर्मचारी, कामदार तथा रोजगारदाता अनिच्छुक भएपछि सरकारले कोषको कार्यविधि संशोधन गरी कर्मचारीमैत्री बनाउने भएको छ ।
यसअघि कोषबाट पेन्सन लिन ६० वर्ष पुग्नैपर्ने व्यवस्था रहेकोमा अवकाश योजनामा रहेको रकम जुनसुकै वेला जम्मा भएको रकम निकाल्न पाउने व्यवस्था गर्न लागिएको छ ।

‘सामाजिक सुरक्षा योजना सञ्चालन कार्यविधि संशोधन गरी योगदानकर्ताको निवृत्तिभरण र अवकाश योजना सँगसँगै सञ्चालन गर्न लागिएको छ, योगदानकर्ताको जागिर छुटेको अवस्थामा अवकाश योजनामा जम्मा भएको रकम लिन पाउने व्यवस्था गर्न लागिएको छ,’ कोषका प्रवक्ता विवेक पन्थीले बताए । कोषले वृद्धावस्था योजनामा जम्मा हुने रकममध्ये ८ प्रतिशत रकम अवकाश योजना र २० प्रतिशत रकम निवृत्तिभरण योजनामा जम्मा गर्ने योजना बनाएको प्रवक्ता पन्थीले बताए ।

यसमध्ये ८ प्रतिशत जम्मा भएको अवकाश कोषको रकम रोजगारी गुमेको अवस्थामा समेत निकाल्न पाइनेछ । ‘२० प्रतिशतका दरले जम्मा हुने रकमचाहिँ ६० वर्षपछि पेन्सन दिने प्रयोजनका लागि खर्च हुनेछ,’ उनले भने । त्यस्तै, सामाजिक सुरक्षा कोषले अब योगदानकर्तालाई कर्जादेखि सापटीसम्म दिने भएको छ ।
हाल मस्यौदा हुँदै गरेको सामाजिक सुरक्षा योजना सञ्चालन कार्यविधिमा गरिएको प्रस्तावित व्यवस्थाअनुसार योगदानकर्ताले अवकाश योजनामा जम्मा भएको रकमबाट सापटी लिन पाउने भएका हुन् । पन्थीका अनुसार निश्चित समयपछि निवृत्तिभरण योजनामा संकलन भएको रकम पनि योगदानकर्ताले सापटीका रूपमा प्रयोग गर्न पाउनेछन् ।

११ मंसिर २०७५ मा सुरुवात गरिएको सामाजिक सुरक्षा योजनामा १ साउन ०७६ बाट योगदान रकम संकलन सुरु भएको हो । तर, कोषले सञ्चालन गरेका योजनाहरू अव्यावहारिक भएको भन्दै श्रमिकहरू कोष आबद्ध हुन हिचकिचाएका छन् ।
हालको व्यवस्थाअनुसार सामाजिक सुरक्षा कोषले वृद्धावस्था सुरक्षा योजनाअन्तर्गत दुईवटा उपयोजना निवृत्तिभरण योजना र अवकाश योजना सञ्चालन गरेको छ । यीमध्ये योगदानकर्ताले कुनै एउटा योजना छनोट गर्नुपर्नेछ ।
योगदानकर्ता ६० वर्ष पुगेपछि वा योगदान रकम जम्मा गरेको १५ वर्षपछि मात्रै उक्त योजनामा संकलन भएको रकम प्राप्त गर्न सक्नेछन् । योगदानकर्ताले कोषमा जम्मा गरेको ३१ प्रतिशत रकममध्ये २८।३३ प्रतिशत रकम वृद्धावस्था सुरक्षा योजनामा जम्मा हुँदै आएको छ । अब अवकाश र निवृत्तिभरण योजना छुट्टाछुट्टै सञ्चालन गर्ने योजना कोषको छ ।

१ करोडसम्मको तीन प्रकारका कर्जा
सामाजिक सुरक्षा कोषले योगदानकर्तालाई १ करोड रुपैयाँसम्मका तीन प्रकारका कर्जा सुविधा दिने भएको छ । कोषले लगानी कार्यविधि पारित गर्दै योगदानकर्तालाई घर कर्जा, शैक्षिक कर्जा र सामाजिक कार्य कर्जा सुविधा सञ्चालन गर्न लागेको कोषका प्रवक्ता विवेक पन्थीले बताए ।
पन्थीका अनुसार योगदानकर्ताले ७५ लाख वा १५ वर्षको तलबबराबरको घरकर्जा सुविधा पाउनेछन् । त्यस्तै, ३५ लाख रुपैयाँसम्मको शैक्षिक कर्जा र ५ लाख रुपैयाँसम्मको सामाजिक कार्य ९विवाह, व्रतबन्ध आदि० कर्जा सुविधा पाउनेछन् । सामाजिक सुरक्षा कोषमा आबद्ध भई लगातार तीन वर्षसम्म योगदान रकम जम्मा गरेका योगदानकर्ताले मात्रै यस्तो कर्जा सुविधा प्राप्त गर्न सक्नेछन् । यो कर्जा धितोमा आधारित हुनेछ ।

१२ वटा क्षेत्रमा लगानी गर्न सक्ने
सामाजिक सुरक्षा कोषले १२ वटा विभिन्न क्षेत्रमा लगानी गर्न पाउने भएको छ । कोषको लगानी कार्यविधिअनुसार नेपाल सरकारको ऋणपत्र, डिबेन्चर, सुरक्षण, सेयर, म्याचुअल फन्ड, भाडा प्रयोजनका लागि व्यावसायिक भवन निर्माण, वित्तीय संस्थाको मुद्दती निक्षेप, अन्तरसहवित्तीयकरण, बैंक वित्तीय संस्थाको जमानतमा कुनै सार्वजनिक संस्थालाई ऋण, धितो वा जमानी लिएर लगानी गर्न सक्ने, कोषले लगानी गरेको ऋणको असुलीबापत प्राप्त जायजेथा व्यवस्थापन गर्न सक्ने, सामाजिक सुरक्षा कोषमा आबद्ध हुने योगदानकर्तालाई ऋण दिने र अन्य कार्यमा लगानी गर्न सक्ने व्यवस्था भएको कोषका प्रवक्ता पन्थीले बताए ।

कोषले योगदानकर्ताबाट कोषमा जम्मा भएको रकम, राष्ट्रियस्तरको कल्याणकारी कोषमा जम्मा भएको रकम र सामाजिक सुरक्षा कर लगानी गर्न पाउने व्यवस्था छ । हालसम्म योगदानकर्ताबाट ३ अर्ब २० करोड योगदान रकम संकलन भएको कोषका प्रवक्ता पन्थीले बताए । त्यस्तै, कोषले बोनस वितरण गरेपछि बाँकी रहेको रकममध्ये ३० प्रतिशत राष्ट्रियस्तरको कल्याणकारी कोषमा र ७० प्रतिशत सामाजिक प्रतिष्ठानको कल्याणकारी कोषमा जम्मा गर्नुपर्ने हुन्छ । सोमध्ये राष्ट्रियस्तरको कल्याणकारी कोषमा जम्मा हुने ३० प्रतिशत रकम पनि कोषले लगानी गर्न सक्ने व्यवस्था छ ।

त्यस्तै, सरकारले संकलन गर्दै आइरहेको १ प्रतिशत सामाजिक सुरक्षा कर पनि कोषले नै सञ्चालन गर्न पाउने व्यवस्था छ । तर, हालसम्म सो रकम अर्थ मन्त्रालयले कोषलाई हस्तान्तरण नगरी आफैँले नै परिचालन गर्दै आइरहेको कोषका प्रवक्ता पन्थीले बताए । कोषमा हालसम्म १२ हजार ९ सय ३५ रोजगारदाता र १ लाख ८० हजार ५ सय ३१ योगदानकर्ता सूचीकृत भएका छन् । कोषमा ३ अर्ब २० करोड योगदान रकम संकलन भएको छ भने १ करोड ७३ लाख दाबी भुक्तानी भएको छ । यो खवर नयां पत्रिका दैनिकमा छापिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *