चीनको छन्तुस्थित महावाणिज्यदूतका लागि सहसचिव घिमिरेको नाम सिफारिस

काठमाडौँ । चीनको छन्तुमा स्थापना गर्न लागिएको नेपालकाे नयाँ महावाणिज्यदूताबासको नेतृत्वका लागि सहसचिव दिनेशकुमार घिमिरेको नाम सिफारिस गरिएको छ । महावाणिज्यदूतका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सहसचिव घिमिरेको नाम सिफारिस गरिएको हो ।

परराष्ट्र मन्त्रालयको अनुरोधमा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले घिमिरेको नाम पठाएको स्रोतले बतायो । अब बस्ने मन्त्रिपरिषद् बैठकले निर्णय गर्नसक्ने गरी परराष्ट्र मन्त्रालयले प्रस्ताव लैजाने तयारी गरेको बताइएको छ ।

चीनसँगको कनेक्टिभिटी तथा पर्यटकीय दृष्टिकोणले सिछुवान प्रान्तको राजधानी छन्तु नेपालको लागि महत्त्वपूर्ण शहर हो । सिछुवान र लुुम्बिनी प्रान्त तथा छन्तु र काठमाडौँ महानगरबीच भगिनी सम्बन्ध स्थापित छ । छन्तुसँग जोडिएको छोङ्गछिङ्ग शहरमा नेपाल–चीन संयुक्त लगानीको हिमालय एअरलाइन्सले नियमित उडान गरिरहेको छ । कोरोना भाइरसको महामारीअघि छन्तुबाट एअर चाइना, सिछुवान एअर र तिब्बत एअरले काठमाडौँका लागि नियमित उडान भर्दै आइरहेका थिए ।

राजधानी बेइजिङ्गमा नेपाली राजदूताबासकाे अतिरिक्त चीनकाे ल्हासा, हङ्गकङ्ग र क्वाङ्चाै  (ग्वान्झाउ) मा महावाणिज्यदूताबास तथा शाङ्हाइमा अवैतानिक वाणिज्यदूत रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *