प्रज्जवल थापा । इटालियन लिग सिरि ए मा युभेन्टसले पछि परेको स्थिति उल्टाउदै जित निकालेको छ । शनिबार राती भएको खेलमा युभेन्टसले सहरी प्रतिद्वन्द्वी टोरिनोलाई २-१ गोल अन्तरले पराजित गरेको हो ।
घरेलु मैदान एल्लिनाज एरिनामा भएको खेलमा युभेन्टसलाई जित दिलाउन वेस्टन मकेन्नी र लियोनार्डो बोनुचीले एक-एक गोल गरे । टोरिनोको लागि निकोलस कोउलुले गरेको गोल सान्त्वनामा सिमित रह्यो । खेलमा अग्रता भने पाहुना टोलीले लिएको थियो । खेलको नवौँ मिनेटमा निकोलस कोउलुले गोल गर्दै टोरिनोलाई खेलमा अग्रता दिलाएका थिए ।
खेलमा पूरा समय पकड जमाएको युभेन्टसले गोलको लागि अन्तिम समयसम्म कुर्नु पर्यो । खेकको ७८ औँ मिनेटमा जौन कौड्राडोको पासमा वेस्टन मकेन्नीले गोल गर्दै घरेलु टोलीलाई बराबरीमा ल्याए । यस्तै ८९ औँ मिनेटमा कौड्राडोकै पासमा लियोनार्डो बोनुचीले गोल गर्दै युभेन्टसलाई ३ अङ्क दिलाए ।
जितसँगै युभेन्टस १० खेलमा २० अङ्क जोड्दै तेस्रो स्थानमा उक्लिएको छ । एक खेल कम खेलेको एसि मिलान २३ अङ्कको साथ शिर्ष स्थानमा छ ।