नेकपाभित्रको विवाद समाधान गर्न सचिवालय असमर्थ, अब दुबै अध्यक्षका प्रस्ताव स्थायी कमिटीमा लगिने

काठमाडौं । सत्तारुढ नेकपाको सचिवालय बैठकले अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले प्रस्तुत गरेको प्रतिवेदन स्थायी कमिटी बैठकमा छलफल गर्ने निर्णय गरेको छ ।

शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकले आइतबार बस्ने स्थायी कमिटी बैठकमा अध्यक्षद्वयले प्रस्तुत गरेका दुवै प्रतिवेदन पेस गर्ने निर्णय गरेको हो । पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टीको संकट निवारणका निम्ति अहिलेसम्म प्रस्तुत भएका प्रस्तावहरु स्थायी कमिटीमा पेस गरेर छलफल गर्ने निर्णय भएको जानकारी दिए । उनले भने, ‘पार्टीको संकट निवारण सम्बन्धमा अहिलेसम्म सचिवालयमा प्रस्तुत प्र्रस्तावहरु स्थायी कमिटीको बैठकमा पेस गरी सार्थक निष्कर्षका निम्ति छलफल अगाडि बढाइने छ ।’

उनले सचिवालयको बैठक बस्नुअघि अध्यक्षद्वय बीच भएको भेटवार्तामा पनि कुनै समझदारी नभएको बताए । सचिवालय बैठकमा पार्टीको संकट निवारणका लागि छलफल भएपनि आजै निष्कर्षमा पुग्ने सम्भावना नभएकोले स्थायी कमिटीमा पेस गर्ने निर्णय भएको उनले बताए ।

स्थायी कमिटी बैठक चलिरहँदा आवश्यक परे अध्यक्षद्वय बीच र सचिवायलको औपचारिक तथा अनौपचारिक बैठक समेत बसेर छलफललाई अगाडि बढाउन सकिने प्रवक्ता श्रेष्ठले बताए । नेकपाको स्थायी कमिटी बैठक आइतबार दिउँसो १ बजे पार्टी मुख्यालय धुम्बाराहीमा बस्ने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *