भारतमा घ्रसेर हिँड्ने वन्यजन्तुलाई दुर्घटनाबाट जोगाउन आकाशे पुल निर्माण

भारतका वन अधिकारीहरूले घ्रसेर हिँड्ने सरीसृप र अन्य साना वन्यजन्तुलाई उत्तराखण्डको एउटा व्यस्त सडक पार गर्न सहयोग पुग्नेगरी विशेष पुल निर्माण गरेका छन् । ९० फुट अर्थात् २७ मिटर लामो उक्त “इको ब्रिज” बाँस, जुट र घाँसबाट बनेको र त्यस्तो खालको पहिलो संरचना भएको स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

लोकप्रिय पर्यटकीय गन्तव्य नैनीताल जाने उक्त राजमार्गमा तीव्र गतिमा गुड्ने सवारीसाधनका कारण कैयौँ वन्यजन्तुको ज्यान जाने गरेको छ । लक्षित वन्यजीवले पुलमा प्रयोग गरून् भनेर त्यसमा घाँस र लहराहरू उमार्ने काम गरिएको अधिकारीहरूले बताएका छन् ।

उत्तराखण्डका वन अधिकारी चन्द्रशेखर जोशीले भने, ‘कैयौँ सरीसृपहरू र अरू साना जीवलाई यो राजमार्गमा पर्यटकले चढ्ने सवारीसाधनहरूले मार्ने गर्दै आएका छन्।’ उनले वन्यजन्तुको आवतजावत निगरानी गर्न अधिकारीहरूले पुलको दुवैतिर क्यामरा जडान गरिएको पनि जानकारी दिए ।

अहिले उक्त पुल नै पर्यटकहरूको आकर्षणस्थल बनेको छ र त्यहाँ रोकिएर धेरैले तस्बिर र सेल्फी खिच्न थालेका छन् । तर वन विभागले उक्त पुलले चाँडै वन्यजन्तुलाई पनि आकर्षण गर्ने अपेक्षा राखेको छ । अधिकारीहरूले यो पुलले त्यस क्षेत्रमा रहेका साना जन्तु र सरीसृपहरूबारे जनचेतना जगाउने र उनीहरूको संरक्षणमा सहयोग गर्ने विश्वास राखेका छन्।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *