अस्ट्रेलियाविरुद्धको तेस्रो एकदिवसिय क्रिकेटमा भारत विजयी

प्रज्जवल थापा । अस्ट्रेलिया भ्रमणमा रहेको भारतले घरेलु टोलीविरुद्धको तेस्रो तथा अन्तिम एकदिवसिय खेलमा जित निकालेको छ । अघिल्लो दुई खेलमा पराजित भएको भारतले सिरिजमा सान्त्वना जित निकाल्ने क्रममा अस्ट्रेलियालाई १३ रनले पराजित गरेको हो ।

बुधबार दिउँसो भएको खेलमा ३०३ रनको विजयी लक्ष्य पछ्याएको अस्ट्रेलियाले ४९.३ ओभरमा अलआउट हुँदै २८९ रन मात्र जोड्न सक्यो । घरेलु टोलीको लागि कप्तान एरोन फिंन्च र ग्लेन म्याक्सवेलले अर्धसतक प्रहार गरेपनि जितको लागि पर्याप्त भएन । २५ रन जोड्दा लाबुस्चाग्नेलाई गुमाएको अस्ट्रेलियाले दोस्रो विकेटको रुपमा स्टिभ स्मिथलाई गुमाएको थियो । मार्नुस लाबुस्चाग्ने १३ बलमा ७ रन जोड्दै नतारजनको बलमा आउट भएका थिए । नतारजनले आजैको खेलमा भारतको लागि डेब्यु गरेका थिए । अघिल्लो दुई खेलमा सतक प्रहार गरेका स्मिथ आजको खेलमा ७ रन जोडेर ठाकुरको बलमा राहुलबाट क्याच आउट भए ।

यस्तै मोइसेस हेन्रिक्विस २२ रनमा ठाकुरको सिकार बने । २५.३ ओभरमा एरोन फिंन्च ७५ रनमा रविन्द्र जडेजाको बलमा शिखर धवनबाट क्याचआउट भए । उनले ८२ बलमा ७ चौका र ३ छक्का प्रहार गरे । कामेरोन ग्रिन २१ र एलेक्स क्यारी ३८ रन जोडेर पभिलियन फर्किए । ग्लेन म्याक्सवेलले ५९ र एश्टोन अगारले २८ रन जोडेपनी अस्ट्रेलियाको जितको लागि प्रयाप्त भएन ।

भारतको लागि शार्धुल ठाकुरले १० ओभर बलिङ गर्दै ५१ रन खर्चेर ३ विकेट लिए । यस्तै जस्प्रित बुम्रा, नताराजनले समान दुई/दुई विकेट लिदा रविन्द्र जडेजा र कुलदिप यादवले १/१ विकेट लिए ।

यसअघि मानुका ओभलमा भएको खेलना टस जितेर पहिले ब्याटिङ गर्न उत्रिएको भारतले निर्धारित ५० ओभरमा ५ विकेट गुमाउदै ३०२ रन बनाएको थियो । भारतको लागि कप्तान विराट कोइली, हार्दिक पाण्डय, रविन्द्र जडेजाले अर्धसतक पूरा गरे । ५.५ ओभरमा भारतले पहिलो विकेट गुमाएको थियो । ओपनर धवन २७ बलमा २ चौकाको मद्दतमा १६ रन जोड्दै एबोटको बलमा आउट भएका थिए । अर्का ओपनर शुभ्मन गिलपनि ३३ रनमा अगारको बलमा एलबीडब्लू आउट भए ।

श्रेयस आयर १९ र केएल राहुल ५ रनमा आउट भएपछि भारत अप्ठ्यारो अवस्थामा आएको थियो । ३२ ओभरमा कप्तान विराट कोइली आउट हुँदा भारत १५२/५ को स्थितिमा आएको थियो । विराट ७८ बलमा ५ चौकाको मद्दतमा ६३ रन जोड्दै हज्लेवुडको बलमा आउट भएका थिए ।

त्यसपछि ब्याटिङ गर्न आएका अलराउन्डरद्वय रविन्द्र जडेजा र हार्दिक पाण्डयले १५० रनको साझेदारी गरेपछि भारत सम्मानजनक स्कोरमा पुगेको थियो । हार्दिक पाण्डयले ७६ बलमा ७ चौका र १ छक्काको मद्दतमा ९२ रन जोडे । रविन्द्र जडेजाले ५० बलमा ५ चौका र ३ छक्का प्रहार गर्दै ६६ रनको योगदान गरेका थिए ।

अस्ट्रेलियाको लागि एश्टोन अगारले दुई विकेट लिँदा हज्लेवुड, एब्बोट र जाम्पाले एक(एक विकेट लिए । हारका बाबजुद अस्ट्रेलियाले तीन खेलको ओडिआई सिरिज २/१ ले जितेको छ । सिरिजको उत्कृष्ट खेलाडी अस्ट्रेलियाका स्टिभ स्मिथ घोषित भए । अब दुई टोलीबिचको टि-टवान्टी सिरिज शुक्रबार शुरु हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *