काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई प्रहरीले नियन्त्रणमा लिएको छ । आफ्नो निर्वाचन क्षेत्र तनहुँमा पुल उद्घाटन गर्न पुगेका पौडेललाई प्रहरीले नियन्त्रणमा लिएको हो । पौडेलले सामाजिक सञ्जाल ट्विटरमा आफूलाई हिरासतमा लिएको जानकारी गराएका छन् ।
पौडेलले लेखेका छन्, ‘भर्खर प्रहरी परिचालन गरि मलाई समेत हिरासतमा लिएको जानकारी दिन्छु । साधारण जनता र नेपाली कांग्रेसका कार्यकर्ता माथिको प्रहरी लाठीचार्ज र दमन तत्काल बन्द होस् !’
व्यास नगरपालिका–१ स्थित तालघरे र दुम्सी जोड्ने पुल उद्घाटनको विषयमा कांग्रेस र राष्ट्रिय युवा संघबीच विवाद चर्किएपछि जिल्ला प्रशासन तनहुँले उक्त क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ। नेपाली कांग्रेसले जसरी पनि पुल उद्घाटन गर्ने र युवा संघले जसरी पनि रोक्ने भनी विवाद सृजना भएपछि जिल्ला प्रशासनले सम्भावित झडपलाई रोक्न निषेधाज्ञा जारी गरेको हो ।