बढ्यो पाटन दरबार सङ्ग्रहालयमा चहलपहल

ललितपुर । पाटन दरबार सङ्ग्रहालयमा सर्वसाधारणको चहलपहल बढेको छ । मुलुकमा कोभिड–१९ महामारी फैलिएर बन्दाबन्दी भएसँगै उक्त दरबार सङ्ग्रहालय बन्द भएको थियो । यही मङ्सिर ८ गतेदेखि दरबार सङ्ग्रहालय इच्छुक सर्वसाधारणका लागि खुला भएसँगै चहलपहल बढेको हो ।

बिहान १० देखि दिउँसो ४ बजेसम्म मात्र सङ्ग्रहालय खुल्ने गरेको अधिकृत सुरेशमान लाखेले जानकारी दिए । उनले भने, “पहिलो दिन २५ हुँदै शनिबार बिदाका दिन करिब १४० र अन्य दिन ७० को हाराहारीमा सङ्ग्रहालय अवलोकन गर्न आउने मानिसको सङ्ख्या बढ्दै गइरहेको छ ।” कोरोना महामारीपछि खुलेको दरबार सङ्ग्रहालयमा स्वदेशीका साथै विदेशी पर्यटक पनि भित्रिन थालिसकेको लाखेले जानकारी दिए ।

पाटन कष्ण मन्दिर नजिकै रहेको ‘कात्तिक डबली’ मा गत शुक्रबार र शनिबार यस वर्षको कात्तिक नाच मञ्चन गरेसँगै दरबार सङ्ग्रहालयले पनि ती दिनबाट नाट्यकला महोत्सवको तस्वीरका साथै वृत्तचित्र प्रदर्शनी गरिरहेको छ । उक्त प्रदर्शनीमा करिब ३० वटा नृत्यका तस्वीर राखिनुका साथै २४ मिनेटको वृत्तचित्र पनि प्रदर्शनी भइरहेको संरक्षण समितिका अध्यक्ष किरण चित्रकारले बताए ।

यसका साथसाथै दरबार परिसरमा आजभोलि खुबै मानिसको चहलपहल बढेको देखिन्छ । मुलुकमा कोरोना कहर आएसँगै गत वर्षको चैत महिनाबाट पाटनमा मानिसको आवागमन शून्य नै भएको थियो । यस महिनादेखि मुलुकभर चिसो बढेसँगै केही घण्टा घाम ताप्न पाटन दरबार परिसरमा आफूहरू भित्रिने गरेको स्थानीय वृद्धवृद्धाको भनाइ छ ।

गत वर्ष पाटनमा यस समय थुप्रै स्वदेशीलगायत विदेशी पर्यटकको चहलपहलका कारण मङ्गलबजार क्षेत्रमा हिँड्नसमेत ठेलमठेल हुन्थ्यो । मन्दिर तथा पुरातात्विक महत्वका सम्पदाले पाटन दरबार क्षेत्र भरिएको छ । पाटनमा विभिन्न काष्ठकला, मूर्तिकला, प्रस्तरकला, धातुकला र हस्तकलाका सामग्री निर्माण हुन्छ । काठमाडौँ उपत्यकाको प्रसिद्ध तीन शहरमध्ये पाटन सबैभन्दा पुरानो शहरको रूपमा परिचित छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *