आज शाख्तार डोनेस्क र रियल म्याड्रिड भिड्दै

प्रज्जवल थापा । युईएफए च्याम्पियन्स लिग अन्तर्गत समुहचरणको पाँचौ खेलमा आज रियल म्याड्रिडले शाख्तार डोनेस्कको सामना गर्दै छ । खेल नेपाली समय अनुसार राती ११:४० बजे शुरु हुनेछ ।

किभमा हुने खेल जितेको खण्डमा रियल म्याड्रिड एक खेल अगावै नक आउट चरणमा प्रवेश गर्नेछ । हाल म्याड्रिड तेस्रो स्थानमा रहेको शाख्तार भन्दा ३ अङ्क बढी जोड्दै समूह ‘बि’ को दोस्रो स्थानमा छ । त्यसैले आजको खेल जितेको खण्डमा म्याड्रिड अन्तिम १६ मा प्रवेश गर्नेछ ।

यता शाख्तार रियललाई हराउदै नकआउट चरणमा पुग्ने सम्भावना जिवितै राख्न चाहन्छ । अक्टोबर २१ मा रियलको घरेलु मैदानमा भएको खेलमा शाख्तार ३-२ गोल अन्तरले विजयी भएको थियो । तर प्रतियोगिताको पछिल्लो दुई खेलमा भारी गोलले पराजित भएको शाख्तार आजको खेलमा प्रदर्शन सुधार गर्ने प्रयास गर्नेछ । पछिल्लो दुई खेलमा शाख्तार बोरुसिया मोन्चेनग्लाडबाकसँग ६-० र ४-० गोल अन्तरले पराजित भएको थियो ।

गत शनिबार घरेलु मैदानमा भएको खेलमा म्याड्रिड आल्भेससँग २-१ गोल अन्तरले पराजित भएको थियो । स्पेनिस च्याम्पियन हाल घरेलु लिगको चौथो स्थानमा रहेको छ । रियल म्याड्रिड आजको खेलमा कप्तान सेर्जियो रोमस, ईडेन हजार्ड, डानी कार्भाहल, लुका जोभिक, फेड्रिको भाल्भार्डे र अल्भारो ओर्डिजोला बिना मैदान उत्रिनेछ । भखरै चोटबाट फर्किएका करिम बेन्जिमालाई फर्वार्ड लाइनमा भिनिसियस र एसेन्सियोले साथ दिने सम्भावना छ । यस्तै राइट ब्याकमा लुकासले शुरुवात गर्नेछन् ।

दुई टोलीबिच भएको पछिल्लो तीन खेलमा म्याड्रिड विजयी हुदा एक खेल शाख्तारले जितेको छ । सुमहकै अर्को खेलमा आज शिर्ष स्थानमा रहेको बोरुसिया मोन्चेनग्लाडबाकले पुछारमा रहेको इन्टर मिलानको सामना गर्दै छ । खेल नेपाली समय अनुसार राती १:४५ बजे शुरु हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *