USAID

प्रधानमन्त्री ओलीलाई अमेरिकाको क्यालिफोर्नियाबाट पूर्वप्रहरी अधिकृतको खुल्लापत्र


यतिवेला तपाईँले आन्तरिक जीवनकालकै सवैभन्दा खराब समयको सामना गरिरहनुभएको छ भन्दा अतिशयोक्ति नहोला । मर्यादाक्रममा मुलुकको तेस्रो नम्बरमा रहेको व्यक्तित्वको बारेमा धेरैलाई धेरै कुराको जानकारी अवश्यनै छ । ती विषयहरू यहाँ उठान गरिरहन आवश्यक ठानिएन । बाँकी रह्यो स्वास्थ्य अवस्था ।

ज्यादै नजिकका आफन्तजनहरूको मिर्गौलाको सहायतामा वोनसको जिन्दगी जिउनु भइरहेका देशका प्रधानमन्त्री ज्यूको सन्तुलित स्वास्थ्यस्थिति र उच्च मनोवल हाम्रो अवगतमै भएको हुँदा हालखबर सोधिरहनका लागि समेत थप शब्दहरू खर्चिनुपर्छ जस्तो महसुश गरिन ।

अब कुरोको चुरोतिर लागौं । २०७२ बैशाख १२ गतेको विनाशकारी भूकम्पले मुलुक थिलथिलो भइरहेको वेला भारतको असहमति र दबावका बावजूद पनि नेतृत्वदायी भूमिका निर्वाह गर्दै ३ असोजमा संविधान जारी गरेलगत्तै सिंहदरबार प्रवेश गर्दैगर्दा राष्ट्रले झेल्नुपरेको नाकाबन्दीको कठिन समयमा प्रधानमन्त्रीको तहबाट प्रदर्शित राष्ट्रिय स्वाभिमान र कार्यक्षमताको मूल्यांकन नेपाली जनताले त्यसताका उच्चस्तरबाट गरेकै हुन् ।

कतिपय नेपालकै स्वार्थ समूहहरू सिमानामा बसेर नाकाबन्दी कडा बनाई काठमाडौंका करिव ५० लाख जनताको दैनिकी तहसनहस वनाउन भारतलाई उचालिरहेको अवस्थामा भारतसामु नझुक्न नागरिकको खबरदारीसँगसँगै तपाईँले लिएको चट्टानी अडान मानसपटलमा ताजै छ ।

त्यसैको फलस्वरूप झण्डै ४ वर्षअघि २०७३ साउन १९ गते प्रधानमन्त्रीको रूपमा १० महिने जागिरबाट बाहिरिँदै गर्दा बालुवाटारदेखि बालकोटसम्म सडकमा उत्रेको जनलहरले व्यक्त गरेको स्वस्फूर्त सम्मान चानचुने सम्पति होइन । व्यक्ति उही, पदप्रतिष्ठा उही खाली इज्जत र सम्मान फरक ।

आखिर किन यो सव भइरहेको छ त ? यो जनसाधारणको कौतुहलता र जिज्ञासा मात्रै होइन, निकै चुनौतीपूर्ण प्रश्न हो भन्ने भावबाट बग्ने, मनन् गर्ने कोशिश गर्नुभयो भने राज्यसत्ता संचालनको बाँकी करिव दुई वर्षे समयसीमा जिन्दगीको स्वर्णिम इतिहास बन्नेछ । अनि हरेकले त्यो इतिहासका पाना पल्टाउने छन्, पढ्ने छन्, बुझ्ने छन् र चीरकालसम्म स्मरण गरिरहने छन् ।

त्यसका लागि खाली एउटै काम काफी छ । त्यो हो ‘सुशासन’ । यो एउटा शब्दभित्र संसार चलेको छ । जसले पद्धति र प्रणालीको विकास गरे, तिनीहरू आज चन्द्रमामा पुगिसके, समुद्रमुनि राजमार्ग र रेल चलाइसके । अनि जसजसले कुशासन दिए, तिनीहरूको हालत कसैको हाम्रोभन्दा केही राम्रो होला, कसैकसैको हाम्रोभन्दा अझै दहनिय होला ।

मेरो विन्ति छ ! मुलुकलाई कम्तीमा यति एउटा सुशासन दिएर विदा हुनुहोस् । अनि तपाईको इतिहास देश पढ्नेछ । अहिलेकै जस्तो कठिन परिस्थितिमा तपाईँको साथ र सहयोगमा कार्यकर्ता होइन जनता बोल्ने छ, उत्रने छ । आज सबैतिर चरम निराशा नै निराशा मात्रै छ । स्वार्थी, दलाल र दबाव समूह खडा गरेर राज्यका हरेक तह, तप्का र निकायमा केही मानिसहरूले हालीमुहाली गरिरहेका छन् ।

भ्रष्टाचार बारेमा त कुरै नगरम । रेडियो, टेलिभिजन र पत्रपत्रिकामा समाचार नआएको दिन छैन । कमिसन नलिने व्यक्ति, संस्था, निकाय सायदै होलान् । यस्तो अवस्था त पहिलैदेखि नेपालीहरूले देख्दै, भोग्दै आएकै हो । तर, पनि कोरोना भाइरसबाट उत्पन्न वर्तमान विषम परिस्थितिमा समेत राज्यसंयन्त्र भ्रष्ट र निकम्मा बन्दै जानु अझै गम्भीर र चिन्ताको विषय हो । यस्ता यावत कुराहरू छन्, जुन वयान गरी साध्य छैन ।

अन्त्यमा, अन्तर्राष्ट्रिय स्तरका विभिन्न सम्मेलनको आयोजना गरेजस्तै नेपालमा सुशासनको थालनी गर्न छिटोभन्दा छिटो देशविदेशका विविध क्षेत्रका पेशा, व्यवसायमा आबद्ध बौद्धिक एवं विज्ञ व्यक्तित्वहरूको वृहत सम्मेलन गरी देशलाई नयाँ कार्यपद्धति र विकास प्रणालीतर्फ प्रवेश गराउने इच्छा र शक्ति मिलोस्, सम्माननीय प्रधानमन्त्री ज्यूलाई बाँकी कार्यकालका लागि शुभकामना ।

गणेश थापा, क्यालिफोर्निया, अमेरिका ।


CivActsAd

2 thoughts on “प्रधानमन्त्री ओलीलाई अमेरिकाको क्यालिफोर्नियाबाट पूर्वप्रहरी अधिकृतको खुल्लापत्र

  1. In Nepal Govt officials ( sarkari karmachari ) are as responsible as the politicians for all the corruption and bad things happening in the nation , they both are equally responsible.

  2. लेखक सोल्टीले आफु अमेरिकाबाट सुपेरियर बनेर प्रधानमन्त्रीलाई आदेश दिने भएछन् । आफु पदमा बस्दा के के काम गरियो सुसाशनको नाममा ? ? ठूला कुरा हैन साना काम गरेमा देशको भलो हुन्छ ।अनि राष्ट्रवाद सबैका देखाउने दाँत हुन् जनतालाई सहज जिवनयापनसंग सम्बन्ध छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *