चलचित्रको माध्यमबाट पर्यटन प्रवद्रर्धन गरिदै

इलाम । चलचित्रको खास काम के हो ? मनोरञ्जन दिने र सन्देश प्रदान गर्ने, तर पछिल्लो समय भने चलचित्रबाटै पर्यटन प्रवद्र्धन गर्न थालिएको छ । नयाँनयाँ क्षेत्रमा ‘लोकसन’ खोज्ने र चलचित्रमा समावेश गर्ने दर बढेको छ । चलचित्रमा आकर्षक ठाउँ देखेर नै कतिपय ठाउँमा पर्यटकको भीड लाग्ने गरेको उदाहरण पनि नौलो होइन । इलाममा भने यो नयाँ उद्देश्यका साथ चलचित्र बनाउने क्रम चल्न थालेको छ ।

केही समयअघि मात्रै इलामकै सेरोफेरोलाई आधार बनाएर चलचित्र ‘प्रेम दिवस’ र ‘म यस्तो गीत गाउँछु’ चलचित्र निर्माण भएको थियो । प्रेम दिवसमा इलामका पर्यटकीय क्षेत्र श्रीअन्तु, ढापपोखरी, माइपोखरी, टोड्के झरनालगायतका क्षेत्रमा चलचित्र छायाङ्कन गरिएको थियो ।

प्रियङ्का कार्की र आयुष्मान देशराज जोशीलाई मुख्य भूमिकामा देखाइएको यो चलचित्रमा हालसम्म कुनै चलचित्रमा नदेखाइएका ठाउँ पनि छायाङ्कनमा परेकाले छायाङ्कन क्षेत्र केही राम्रो देखियो । चलचित्रको व्यापार औसत भयो तर पर्यटनको प्रवद्र्धन भने बढ्यो । पल शाह र पूजा शर्मा अभिनित ‘यस्तो गीत गाउँछु’ चलचित्रबाट पनि इलामका पर्यटकीय क्षेत्र प्रचारमा केही राहत मिल्यो । यस्तै, पछिल्लो समय इलामकै भूभागमा नयाँ चलचित्र ‘कृषि लीला’ छायाङ्कन थालिएको छ ।

इलामकै ८० प्रतिशत भूभागमा छायाङ्कन गरिने यस चलचित्रले पनि पानीटार, श्रीअन्तु, पशुपतिनगरलगायतका क्षेत्रमा छायाङ्कन गर्ने बताएको छ । अन्य २० प्रतिशत छायाङ्कन पाँचथरका विभिन्न ठाउँमा गरिने छ । हालसम्म प्रचारमा नआएका क्षेत्रलाई क्यामरामा देखाउने र प्रवद्र्धन गर्ने चलचित्रको उद्देश्य रहेको चलचित्रका निर्माता केवल तामाङले बताउछन।

चलचित्रमा पुष्प खड्का र श्रद्धा क्षेत्रीको मुख्य अभिनय रहेको छ भने सहायक भूमिकामा बुद्धि तामाङ, रवीन्द्र झा, ह्युमला गौतम, किशोर सम्वाहाम्फेलगायतको भूमिका रहने छ । पूर्वी क्षेत्रमा धेरै लोकेसन छन् तर विविध समस्याका कारण खिच्न गाह्रो छ”, नेपाल चलचित्रकर्मी सङ्घ प्रदेश नं १ का अध्यक्षसमेत रहेका तामाङले सरकारी क्षेत्रबाट अपेक्षाकृत सहयोग नमिल्दा उल्लेखनीय मात्रामा स्थानीय पर्यटकीय ठाउँको प्रवद्र्धन गर्न गाह्रो भएको बताउछन ।

हामीलाई केन्द्रीय सरकारले त सहयोग गरेन नै तर स्थानीय तहले समेत सहयोग नगर्दा दुःख लाग्छ, तामाङले भने – अहिले त चलचित्रको लोकेसनका बारेमा सरकारले कार्यक्रम नै ल्याएको छैन । चलचित्रका निर्देशक दीपक ओलीका अनुसार चलचित्रमा प्रेमिल जोडीलाई आकर्षक ठाउँमा माया÷प्रेम जोडेको आधार रहेछ ।

ओलीले यसभन्दा अघि ‘पण्डित बाजेको लौरी’, ‘कुम्भकर्ण’, रोल्पा रोग’ चलचित्र निर्देशन गरिसेका छन । यसअघिका चलचित्र व्यावसायिकरूपमा कमजोर भए पनि ‘कृष्ण लीला’ भने दर्शकले मनपराउने किसिमको बनाउने निर्देशक ओलीको भनाइ छ । पैसा कम कमाए भनेर मात्रै पनि सबै चलचित्रलाई हेर्न मिल्दैन, सामाजिक विषयवस्तु कतिको झल्कियो भन्ने आधारमा पनि हेर्नु पर्छ, ओलीले भने ।

हुन त इलाममा चलचित्र छायाङ्कन हुने क्रम नौलो होइन । केही वर्षअघि जीवन लुइँटेल र नीता ढुङ्गाना अभिनित ‘नोट बुक’, बुद्धि तामाङ र शुरवीर पण्डित अभिनित ‘मुर्चुङ्गा’, प्रियङ्का कार्की र स्वस्तिमा खड्का अभिनित ‘नाइ नभन्नु ल–५’,लगायतका दर्जन बढी चलचित्र छायाङ्कन भइसकेका छन् तर, प्रायः चलचित्रमा श्रीअन्तु र कन्यामको सेरोफेरो मात्र देखाइने भएकाले पछिल्लो समयका चलचित्रमा नयाँ क्षेत्र समावेश गर्न थालिएको छ ।

चलचित्रमा नयाँ क्षेत्र देखाउँदा चलचित्रका दर्शक बढ्ने त छन् नै पर्यटकीय गतिविधिसमेत बढ्ने छ । यसैले पनि आफूले नयाँ क्षेत्रमा चलचित्र छायाङ्कन थालेको चलचित्रका अर्का निर्माता रत्न श्रेष्ठले बताए ।

यता चलचित्रका नायक पुष्प खड्का पनि उपत्यकाभित्र भन्दा उपत्यकाबाहिर चलचित्रमा काम गर्दा नयाँ अनुभव हुने बताउछन । “पहिले एउटा चलचित्रमा पनि इलाम आएको थिएँ तर यसपल्ट नयाँ ठाउँमा आउन पाइयो । इलामको देउमाई नगरपालिकास्थित पानीटारमा चलचित्र छायाङ्कनका क्रममा रहनुभएका खड्काले आफूले नयाँ ठाउँमा चलचित्र खेल्न पाएको बताए।

लक्ष्मण सुवेदीको लेखन रहेको चलचित्र आउँदो ‘भ्यालेन्टाइन डे’मा ‘रिलिज डेट’ तोकेको निर्माता तामाङको भनाइ छ । “स्थिति सामान्य भएमा सोही मितिमा रिलिज गर्छौं । नभएमा नयाँ वर्षमा निकाल्ने छौँ” । चलचित्रमा इलाममै छायाङ्कन गरिएका तीन वटा गीत रहने छन् भने चलचित्र दुई घण्टाभन्दा बढीको रहने बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *