ओसासुनामाथी बार्सिलोनाको फराकिलो जित


प्रज्जवल थापा । क्याल्टन क्लब बार्सिलोनाले स्पेनिस लिग ला लिगामा फराकिलो जित दर्ता गरेको छ । आइतबार बेलुकी भएको खेलमा बार्सिलोनाले ओसासुनालाई ४-० गोल अन्तरले पराजित गरेको हो ।

घरेलु मैदान क्याम्प नोउमा भएको खेलमा बार्सिलोनालाई जित दिलाउन मार्टिन ब्रेथवेट, एन्टोनियो ग्रिजम्यान, फिलिपे कौटिन्हो र लियोनल मेस्सीले एक-एक गोल गरे । खेलको २९ औँ मिनेटमा मार्टिन ब्रेथवेटले गोल गर्दै घरेलु टोलीलाई खेलमा अगाडी बढाएका थिए । ४२ औँ मिनेटमा एन्टोनियो ग्रिजम्यानले गोल गर्दै बार्सिलोनाको अग्रता दोब्बर बनाए ।

५७ औँ मिनेटमा फिलिपे कौटिन्होले गोल गर्दा बार्सिलोना सहज जित तर्फ अगाडी बढेको थियो । ७३ औँ मिनेटमा ट्रिनकोको पासमा कप्तान लियोनल मेस्सीले गोल गर्दै बार्सिलोनालाई ४-० गोलको फराकिलो अग्रता दिलाए । मेस्सीले गोलपछि म्यारोडोनाको पुरानो जर्सी देखाएर उनीप्रति गोल समर्पण गरेका थिए । महान खेलाडी म्यारोडोनाको गत साता हृदयघातको कारण निधन भएको थियो ।

थप समयमा दुवै टोलीबाट गोल हुन नसक्दा बार्सिलोना ४-० गोल अन्तरले विजयी भएको हो । जितसँगै बार्सिलोना ९ खेलमा १४ अङ्क जोड्दै सातौँ स्थानमा उक्लिएको छ । पराजित ओसासुना १० खेलमा ११ अङ्क जोड्दै १५ औँ स्थानमा छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *