सिड्नीमा नोभेम्बरमा अहिलेसम्मकै सर्वाधिक तापक्रम मापन

गर्मी बढिरहेको बेला अस्ट्रेलियाको सिड्नीमा नोभेम्बर महिनाको रात्रिकालीन न्यूनतम तापक्रम सर्वाधिक मापन गरिएको छ । अभिलेख राख्न थालिएयता पहिलो पटक अस्ट्रेलियाको सिड्नीमा रातिको तापक्रम २५.४ डिग्री सेल्सीयस पुगेको हो ।

आइतवार दिउँसो त्यहाँको तापक्रम ४० डिग्री सेल्सीअस पुग्ने पूर्वानुमान छ । गर्मी बढेपछि अग्निशमन निकायले न्यू साउथ वेल्स राज्यका पूर्वी तथा पूर्वोत्तर भागमा आगो बाल्न निषेध गरेको छ ।

सप्ताहान्तमा साउथ अस्ट्रेलिया र भिक्टोरिया राज्यसहित देशका अन्य भागमा गर्मी ह्वात्तै बढेको छ । अब्जर्भेटरी हिलमा राति घटेर २५.४ सेल्सीयस पुगेको भए पनि बिहान ४ः३० बजे नै तापक्रम ३० सेल्सीयस पुगिसकेको सिड्नी मोर्निङ हेरल्ड पत्रिकाले जनाएको छ । यसअघि सन् १९६७ मा अब्जर्भेटरी हिलमा नोभेम्बर महिनाको रात्रिकालीन तापक्रम २४.८ सेल्सीअस मापन गरिएको थियो ।

सिड्नीमा प्रचण्ड गर्मी हुन थालेपछि मानिसहरू समुद्री तटमा भेला हुन थालेका छन् । भिडभाड गर्दा कोरोनाभाइरस फैलिन सक्ने भएकाले राज्यको स्वास्थ्य विभागले मानिसहरूलाई भौतिक दूरीसम्बन्धी नियम पालना गर्न सचेत गराएको छ ।

अस्ट्रेलियाको मौसम हेर्ने निकायले दक्षिणी न्यू साउथ वेल्स र दक्षिणपूर्वी क्वीन्सल्यान्डका केही भागमा पाँच-छ दिन प्रचण्ड गर्मी भई उष्ण लहर फैलिन सक्ने पूर्वानुमान गरेको छ । रुरल फायर सर्भिसले पनि न्यू साउथ वेल्स राज्यका पूर्वी र पूर्वोत्तर क्षेत्रहरूमा आगलागी हुनसक्ने चेतावनी दिएको छ । अहिले उक्त राज्यका ४५ वटाजति स्थानमा डढेलो लागेको पत्ता लागेको छ।

एउटा आगोले भने सिड्नीबाट पश्चिमतिर केही घरहरूमा खतरा हुने देखिएको छ । शुक्रवार अग्निशमन सेवाका सहायक आयुक्तले सर्वसाधारणलाई आगलागी भयो भने के गर्ने भनेर आफू तयार हुन आग्रह गरेका थिए । गत वर्षको विनाश सम्झिँदै उनले यसपालि पहिलो पटक आगलागीको व्यापक खतरा भएको बताए । सन् २०१९, २० को गर्मी याममा अस्ट्रेलियामा २.४ करोड हेक्टर जमिनमा डढेलो फैलिएको थियो ।

त्यसलाई अस्ट्रेलियाको इतिहासमा अहिलेसम्मकै सबैभन्दा सघन डढेलो मानिएको थियो । आगलागी र डढेलोले प्रायः सबै राज्य पीडित भएका थिए। तीन हजारभन्दा बढी घर जल्दा कम्तीमा ३३ जनाको मृत्यु भएको थियो । डढेलोले झन्डै तीन अर्ब पशुपक्षीको ज्यान लिएको वा विस्थापित गराएको बताइन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *