प्रज्जवल थापा । इङलिस क्लब आर्सनल युईएफए युरोपा लिगको अन्तिम ३२ मा पुगेको छ । बिहिबार राती भएको खेलमा आर्सनलले मोल्डेलाई ३-० गोलले हराउदै अन्तिम ३२ मा स्थान पक्का गरेको हो ।
एकेर रंगशालामा भएको खेलमा आर्सनलले गोल गर्न दोस्रो हाफसम्म कुर्नु परेको थियो । ५० औँ मिनेटमा जोसेप विलकको पासमा निकोलस पेपेले गोल गर्दै आर्सनलाई खेलमा अगाडी बढाएका थिए । ५५ औँ मिनेटमा विलककै पासमा रेइस नेल्सनले गोल गर्दै आर्सनलको अग्रता दोब्बर बनाए ।
८३ औँ मिनेटमा इम्ले स्मिथ रोवेको पासमा फोलरिन बलोगुनले गोल गर्दै पाहुना टोलीलाई ३-० गोलको सहज स्थितिमा पुर्याए । मोल्डेले आर्सनलको पोस्टमा एउटा गतिलो आक्रमण गर्नपनि सकेन । बाँकी समयमा थप गोल हुन नसक्दा आर्सनलले सजत जित निकाल्यो ।
जितसँगै आर्सनल ४ खेलमा सतप्रतिशत जित निकाल्दै १२ अङ्कको साथ शिर्ष स्थानमा रहेर नक आउट चरणमा प्रवेश गरेको छ । यस्तै मोल्डे ४ खेलमा ६ अङ्क जोड्दै दोस्रो स्थानमा छ । रेपिड वेन समान अङ्कको साथ तेस्रो स्थानमा रहँदा चारै खेलमा पराजित भएको डुन्डाल्क प्रतियोगिताबाट बाहिरिएको छ । समुहचरणको दुई खेल बाँकी रहँदा मोल्डे र रेपिड वेनमा एक टोलीले नक आउट चरणमा प्रवेश पाउनेछ ।
