भारतिय विदेशसचिव आज नेपाल आउँदै

काठमाडौँ । भारतका विदेशसचिव हर्षवद्र्धन श्रृङ्गला नेपालको दुईदिने औपचारिक भ्रमण अन्तर्गत बिहीबार यहाँ आउँदै छन्  । उनी बिहीबार बिहान ११ बजे विशेष विमानमार्फत काठमाडौँ उउने छन् ।

नेपाल आउनुभएकै दिन उनले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली लगायतका उच्चाधिकारीसँग शिष्टाचार भेट गर्ने छन् । साथै प्रमुख विपक्षी दल नेपाली काँग्रेसलगायत दलका उच्च नेतासँग भेट गर्ने जनाइएको छ । भ्रमणकै क्रममा उनले भारत सरकारले सहयोग स्वरूप पठाएको कोभिड–१९ सँग सम्बन्धित स्वास्थ्य सामग्री हस्तान्तरण गर्नुहुने छ ।

विदेशसचिव श्रृङ्गलाले भ्रमणका क्रममा बिहीबारै परराष्ट्र सचिव भरतराज पौडेलसँग भेट गर्ने छन् । यस द्विपक्षीय भेटमा नेपाल–भारतबीच सहकार्यमा रहेका विभिन्न परियोजनाका बारेमा छलफल हुने छ । भारतले भूकम्पपछिको पुनर्निर्माणमा ठूलो सहयोग राशिका साथ सघाइरहेको छ ।

त्यस्तै नेपालको तराई क्षेत्रका सडकमार्ग स्तरोन्नति र पूर्वाधार निर्माण अन्तर्गतको हुलाकी सडक निर्माण, सीमा नाकामा चारवटा चेकपोस्ट निर्माण, नेपाल–भारत पेट्रोलियम पाइपलाइन, रेल्वे सेवा, खाद्य सुरक्षा, व्यापार वाणिज्य, अरुण तेस्रोसहितका विद्युत् उत्पादनलगायत विविध परियोजनामा दुई मुलुकबीच सहकार्य जारी छ ।
विशेषगरी उनको यो भ्रमण नेपाल–भारत संयुक्त आयोगको बैठकको तयारीका लागि केन्द्रित रहने भएकाले त्यस बैठकमा उठान गर्नुपर्ने विषयमा परामर्श हुने छ । नेपाल र भारतका परराष्ट्रमन्त्रीले नेतृत्व गर्ने आयोगको छैटौँ बैठक अर्को महिना भारतको नयाँदिल्लीमा गर्ने तयारी भइरहेको छ ।

प्रधानमन्त्री ओलीका परराष्ट्र मामिला सल्लाहकार डा । राजन भट्टराई साँध सिमाना जोडिएका नेपाल–भारत वा नेपाल–चीन दुवैतर्फ सद्भावपूर्ण सम्बन्ध रहनु जरुरी हुने बताउँछन् । उनले भने, “दुई पुराना मित्र मित्रताको एउटै बाटोमा नहिँडेर सुख छैन । मनमुटाव मेटेर संवादमार्फत समस्याको समाधान खोज्नुको विकल्प छैन, निकट रहेका दुवै छिमेकीसँग र अन्य मित्रराष्ट्रसँगको सम्बन्धलाई राम्रो बनाउने नेपालको उद्देश्य छ, जसका लागि विगतमा रहेका समस्यालाई समाधान गर्दै अगाडि जाने नेपालको नीति हो ।”

उनका अनुसार त्यही विकल्पको डोरी समात्दै पछिल्लो समय भारत सरकारले नेपालप्रति चासो दिएर उच्चस्तरीय भ्रमणलाई बढावा दिएको छ । भ्रमणको पूर्वसन्ध्यामा नेपाल र भारतबीचको सम्बन्ध प्रगाढ बनाउने महत्वपूर्ण कडीका रूपमा रहेको उच्चस्तरीय भ्रमणको निरन्तरता स्वरूप यो भ्रमण हुन लागेको मन्त्रालयले जनाएको छ । भारत सरकारले नेपाललाई सधैँ आफ्नो निकट मित्रका रूपमा लिएर उच्च महत्व दिएको खबर आजको गोरखापत्र दैनिकमा प्रकाशित भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *