नारायणगढ (चितवन) । अविरल वर्षासँगै बाढी र डुबानको जोखिम बढेपछि चितवन राष्ट्रिय निकुञ्ज तथा मध्यवर्ती क्षेत्रमा उच्च सतर्कता अपनाउन चितवन राष्ट्रिय निकुञ्ज कार्यालयले आग्रह गरेको छ ।
निकुञ्जका सूचना अधिकारी एवं संरक्षण अधिकृत अविनाश थापामगरका अनुसार निकुञ्ज र मध्यवर्ती क्षेत्र भएर बग्ने नारायणी, राप्ती र रिउ नदीका साथै अन्य साना खोलामा पानीको बहाव उच्च हुने, बाढी आउने, नदी कटान हुने र डुबानको जोखिम बढेकाले उच्च सतर्कता अपनाउन आग्रह गरिएको हो ।
निकुञ्जले आफ्ना कर्मचारी, मध्यवर्ती उपभोक्ता समूह तथा समिति, मध्यवर्ती सामुदायिक वन, चोरीशिकार नियन्त्रण गर्ने युवादस्ता, स्थानीय समुदाय तथा निकुञ्ज र मध्यवर्ती क्षेत्र घुम्न आउने पर्यटकलाई मौसमको पूर्वजानकारी लिएर मात्र आवतजावत गर्न तथा आवश्यक सतर्कता र सुरक्षा सावधानी अपनाउन अनुरोध गरेको छ ।
निकुञ्ज प्रशासनले प्रतिकूल मौसमका बेला नदी, खोला र अन्य जोखिमयुक्त क्षेत्रमा नजान तथा सम्भावित विपद्को पूर्वतयारीका साथ सुरक्षित रहन विशेष अपिल गरेको छ ।
