अन्तर्राष्ट्रिय पर्वतीय सङ्ग्रहालय खुला

पोखरा । पोखरा महानगरपालिका–१७ रातोपैह्रामा सञ्चालित अन्तर्राष्ट्रिय पर्वतीय सङ्ग्रहालय मङ्गलबारदेखि खुला गरिएको छ । विश्वव्यापीरूपमा पैmलिएको कोरोना भाइरसको सङ्क्रमण रोक्न सरकारले २०७६ चैत ११ देखि शुरु गरेको बन्दाबन्दीका कारण विगत आठ महिनादेखि बन्द सङ्ग्रहालय खुला गरिएको हो ।

नेपाल पर्वतारोहण सङ्घद्वारा स्थापना गरी सञ्चालनमा आएको सङ्ग्रहालयमा खुला भएको पहिलो दिन ३३ पर्यटकले अवलोकन गरेको सङ्ग्रहालयका निर्देशक शङ्कर गौतमले जानकारी दिए । उनका अनुसार मास्क, स्यानिटाइजरलगायत स्वास्थ्य मापदण्डको पूर्णरूपमा पालना गरी सङ्ग्रहालय सञ्चालनमा ल्याइएको छ । सङ्ग्रहालय अवलोकनका लागि विद्यार्थी ५०, नेपाली १००, सार्क २०० र बाह्य पर्यटकलाई ५०० र गार्डेनका लागि ३० रुपैयाँको टिकट व्यवस्था गरिएको छ ।

सङ्ग्रहालयमा हिमाली क्षेत्रमा बसोबास गर्ने मानिसको जनजीवन झल्कने सामग्रीलगायत विश्वका हिमचुचुरामा आजसम्म भएगरेका गतिविधि, पर्वतमाला, जलवायु परिवर्तनको असर, चट्टान तथा जीवजन्तु राखिएको छ ।

करिब साढे चार रोपनी क्षेत्रफल ओगटेको सङ्ग्रहालय भवनमा पर्वतारोहण, पदयात्री, हिउँचिप्लेटी, शिकार, अनुसन्धान, मानवीय गतिविधिका महत्वपूर्ण एवं ऐतिहासिक पक्षको प्रदर्शनी, उपकरण सङ्कलन र जानकारीमूलक सामग्रीसमेत प्रदर्शनमा राखिएको छ ।

नेपाल पर्वतारोहण सङ्घले खरिद गरेको १०० रोपनी क्षेत्रफल जग्गामा फैलिएको सङ्ग्रहालयको बाहिरी भागमा मनास्लु हिमालको प्रतिरुप निर्माण गरिएको बताउँदै निर्देशक गौतमले भने, “उक्त मनास्लु मोडल अध्ययन अवलोकनकर्ताका लागि छुट्टै आकर्षण केन्द्र बनेको छ ।”

कोरोना सङ्क्रमण भए पनि लामो समयपछि भ्रमणका लागि पर्यटकीय नागरी पोखरा आएका आन्तरिक पर्यटकका लागि सङ्ग्रहालय खुलेसँगै थप गन्तव्य बन्ने विश्वास निर्देशक गौतमको रहेको छ । कर्मचारी र अवलोकनकर्ताका लागि उचित सतर्कता अपनाइएको जनाइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *