बीबीसी । पोल्यान्डको दोस्रो ठूलो सहर क्राकोको व्यस्त पर्यटकीय क्षेत्रमा भएको अन्धाधुन्ध गोली प्रहारमा परी कम्तीमा ६ जनाको मृत्यु भएको छ भने एक दर्जनभन्दा बढी घाइते भएका छन् ।
शनिबार दिउँसो सहरको प्रसिद्ध मेन मार्केट स्क्वायरमा सैन्य शैलीका हतियार र पोसाकसहित पुगेका एक व्यक्तिले अन्धाधुन्ध गोली चलाएका थिए । प्रहरीले आक्रमणकारीले सवारीसाधनबाट ओर्लिएर सर्वसाधारणमाथि गोली प्रहार गरेको जनाएको छ ।
प्रहरीका अनुसार गोली प्रहारबाट चार महिला र दुई पुरुषको मृत्यु भएको छ । मृतकमध्ये तीन जना पोल्यान्डका, एक जना बेलायती नागरिक रहेका छन् भने अन्य दुई जनाको पहिचान खुल्न सकेको छैन ।
प्रहरीसँगको गोली हानाहानमा आक्रमणकारी घाइते भएका छन् । घटनामा एक प्रहरी अधिकारी पनि गम्भीर घाइते भएका छन् । २५ वर्षीय पोलिस नागरिक आक्रमणकारीलाई उपचारका लागि अस्पताल लगिएको छ । एक मन्त्रीले उनलाई अतिराष्ट्रवादी विचारधाराबाट प्रेरित व्यक्ति भएको बताएका छन् ।
घटनापछि आक्रमणकारीको घरमा गरिएको खानतलासीका क्रममा थप तीन जनाको शव फेला परेको प्रधानमन्त्री डोनाल्ड टस्कले बताएका छन् । उनका अनुसार दुई महिला र एक पुरुष आक्रमणकारीका नजिकका परिवारका सदस्य हुन सक्ने बलियो आधार भेटिएको छ ।
टस्कले क्राकोमा भएको घटनालाई आतंकवादी आक्रमणको संज्ञा दिँदै पोल्यान्डमा यसअघि यति भयावह प्रकृतिका घटना नभएको बताएका छन् ।
स्थानीय समयअनुसार दिउँसो करिब ३ बजे सुरु भएको आक्रमण करिब तीन मिनेटसम्म चलेको प्रहरीले जनाएको छ । आक्रमणकारीको गाडी तीव्र गतिमा बजार क्षेत्रमा प्रवेश गरेको र त्यसपछि गोली चलाउँदा सर्वसाधारण भागाभाग गरेका थिए ।
गोली लागेर पसलका सिसा फुटेका थिए भने एउटा ट्राममा समेत गोली प्रहार भएको थियो । घटनास्थलमा टेबलहरू पल्टिएका र सर्वसाधारणका सामान छरपस्ट भएका दृश्य सार्वजनिक भएका छन् । प्रहरीले आक्रमणकारीको गाडी पछ्याउने क्रममा दुर्घटनाग्रस्त भएपछि उनीसँग गोली हानाहान भएको थियो ।
घटनाप्रति बेलायतका प्रधानमन्त्री एन्डी बर्नहमले दुःख व्यक्त गरेका छन् । उनले मृतकका परिवार, घाइते तथा घटनाबाट प्रभावित सबैप्रति समवेदना व्यक्त गर्दै पोल्यान्डका नागरिकसँग बेलायत ऐक्यबद्ध रहेको बताएका छन् ।
