USAID

पार्टी एकताको रक्षाका लागि सबै एक ठाउँमा उभिन जरुरी छ : महासचिव पौडेल


रुपन्देही । सङ्घीय सरकारका अर्थमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव विष्णु पौडेलले नेकपाको भविष्य कठिन मोडमा आइपुगेको बताएका छन् ।

प्रेस संगठन रुपन्देहीले आज साँझ बुटवलमा आयोजना गरेको पत्रकार भेटघाटमा उनले नेकपामा यो तहको समस्या कहिल्यै नदेखिएको बताए । उनले भने, “कठिन र जटिल अवस्थामा आइपुगेको नेकपालाई एकताबद्ध गरेर जनताका अपेक्षा पूरा गर्न सक्छौँ की सक्दैनौँ भन्ने प्रश्न अहिले खडा भएको छ ।”

महासचिव पौडेलले नेकपाको भविष्यसँग देश र जनताको भविष्य जोडिएको बताउँदै पार्टी एकता जोगाउँदै विवाद समाधान गरी अघि बढ्नुको विकल्प नभएको बताए । उनले अन्तिम क्षणसम्म पनि पार्टी एकता जोगाउन लागी पर्ने उल्लेख गरे । पार्टीभित्र मर्यादाले सीमा नाघेको चर्चा गर्दै उहाँले सबैले पार्टीको विधि र प्रक्रियाभित्र रहेर छलफल गर्न जरुरी रहेको स्पष्ट पारे । मर्यादा बाहिर गएर भएका आरोपप्रत्यारोप समाधान गर्दै पार्टी पुनः एकताबद्ध हुने भन्दै उनले पार्टी एकताको रक्षाका लागि एक ठाउँमा उभिन सबैलाई आग्रह गरे ।

पार्टीभित्रको विवाद समाधानका लागि बनेको कार्यदलले ल्याएका प्रस्ताव र निर्णयलाई कार्यान्वयनतर्फ अघि बढाउने गरी नै पार्टीको विवाद समाधान हुने विश्वास व्यक्त गर्दै महासचिव पौडेलले आन्तरिक जीवनमा देखिएका समस्यालाई समाधान गर्दै पार्टी एकतालाई अरु बलियो बनाउने गरी अघि बढ्नका लागि प्रयासरत रहेको बताए । पत्रकार भेटघाटमा पत्रकारले सोधेको जिज्ञासाको जवाफ दिँदै महासचिव पौडेलले प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाका बीचमा सत्ता समीकरणका विषयमा नभइ संवैधानिक अङ्गमा हुने नियुक्तिका विषयमा छलफल भएको बताए ।

अर्थमन्त्री समेत रहेका पौडेलले सरकारले देश र जनताका पक्षमा एकपछि अर्को निर्णय गर्दै अगाडि बढेको स्पष्ट पारे । “अबको समयमा सरकारका कामलाई प्रभावकारी बनाएर सकारात्मक निर्णय गर्दै जान्छौँ”, उनले भने । मन्त्री पौडेलले प्रदेशको राजधानी नहुँदा पनि रुपन्देहीलाई कुनै असर नपर्ने स्पष्ट पार्दै यो ठाउँलाई अझै माथी उठाउन विकासका मुद्दालाई ओझेलमा पर्न नदिने सङ्कल्प व्यक्त गरे । उनले भने, “यो ठाउँलाई पूर्वाधार विकासका हिसाबले पछाडि पर्न दिइने छैन । आर्थिक र पर्यटकीय केन्द्रका रुपमा विकास गर्दै लैजान्छौँ । ”

अर्थमन्त्री भएपछि पहिलो पटक गृहजिल्ला आउनुभएका पौडेलले आज उद्योगी व्यवसायीसँग बुटवलमा छलफल गरेका छन् । अर्थमन्त्री पौडेल बुधबार रुपन्देहीमा आयोजना हुने विभिन्न कार्यक्रममा सहभागी हुने छन् । उनले तिनाउ – दानव कोरिडोर सडकको शिलान्यास गर्ने कार्यक्रम तय भएको छ ।


CivActsAd

Leave a Reply

Your email address will not be published. Required fields are marked *